मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०४ Sunday, November २२, २०२६

कोशी कांग्रेसमा चरम असन्तुष्टि, दलको नेता फेर्न कसरत

शेयर९.८K०
कोशी कांग्रेसमा चरम असन्तुष्टि, दलको नेता फेर्न कसरत

नेपाली कांग्रेस कोशी प्रदेशमा संसदीय दलको नेता फेर्ने कसरत सुरु भएको छ । दुई–दुई पटक मुख्यमन्त्री भएर पनि विश्वासको मत लिन नसकेको तथा संसदीय दलको नेतृत्व गर्न नसकेको भन्दै असन्तुष्ट समूहले दलको नेता फेर्न कसरत थालेका हुन् । अहिले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा उद्धव थापा छन् ।

कोशीमा कांग्रेसका २९ सदस्यमध्ये संसदीय दलको नेताको निर्वाचनमा थापाले १८ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी केदार कार्कीले ९ र अर्का प्रतिस्पर्धी अमृत अर्यालले २ मत पाएका थिए । संसदीय दलको नेता भएपछि उनी गठबन्धनबाट दुई पटक मुख्यमन्त्री बने । तर, सरकार टिकाउन नसकेको भन्दै थापाप्रति आन्तरिक आलोचना बढेको छ । उनी कृष्ण सिटौलानिकट हुन् ।

सिटौलानिकट भए पनि उनले कांग्रेस सभापति शेरबहादुर देउवानिकटका सांसदहरूको साथ पाएका थिए । देउवाका उम्मेदवार अमृतले २ मतमात्रै पाएका थिए । पछिल्लो समय शेखर समूहका सांसदहरूले दलको नेता फेर्नुपर्ने दबाब दिइरहेका छन् । यसमा देउवाकै सांसदको पनि साथ छ ।

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री तथा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले संसदीय दलको नेताले निकास दिनुपर्ने बताए ।

उनले भने, ‘उहाँले संसदीय दलको नेताबाट राजीनामा दिएर निकास दिनु पर्छ । उहाँले नैतिकताको आधारमा दलको नेतामा बसिरहन सुहाउँदैन ।’

थापाले दुई–दुई पटक मुख्यमन्त्री हुँदा पनि विश्वासको मत लिन र सरकार टिकाउन नसकेको कार्कीको आरोप छ ।

उनले भने, ‘यसले पार्टीभित्र र जनमानसमा कांग्रेसप्रति नकारात्मक भाव उत्पन्न भएको छ । दलको नेताले जतिसक्दो चाँडो निकास दिनु पर्छ । दलभित्र कुनै छलफल नगरी एकलौटी ढंगले काम गरिरहनुभएको छ ।’

थापा संसदीय दलको नेता मात्रै नभई प्रदेशको सभापति पनि भएकाले कांग्रेसलाई बलियो बनाउन दलको नेताबाट राजीनामा दिएर पार्टीको गतिविधिमा ध्यान दिनुपर्नेमा उनको जोड छ ।

थापा तत्कालीन सभामुख बाबुराम गौतमलाई समेत हस्ताक्षर गराएर आफ्नो पक्षमा बहुमत पुगेको भन्दै उनी मुख्यमन्त्रीको दाबीका लागि गएका थिए । सर्वोच्चले साउन ११ गते थापाको नियुक्ति बदर गरिदिएको थियो । त्यसपछि सभामुखलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री बने ।

तर, भदौ ४ गते विश्वासको मत लिने क्रममा सभाको अध्यक्ष गरेका इस्राइल मन्सुरीको भोट प्रयोग गरेपछि उनी पुनः विवादित बने । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको मुद्दाको फैसलाउपर सर्वोच्चले भदौ २१ गते थापालाई पदमुक्त गरी कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो ।

‘यी दुवै घटनामा संसदीय दलभित्र छलफल भएन । माथिको निर्णय भन्दै दलको नेताले सभाध्यक्षलाई मत हाल्न लगाउने निर्णय भएको सुनाउनुभएको थियो । यस्तो अपरिपक्क निर्णय कसको थियो अहिलेसम्म हामीलाई थाहा छैन । यस्तो अपरिपक्क निर्णय गर्न कसले सुझाएको हो ? दललाई जानकारी गराउन पर्दैन ? यस्तो केटाकेटी पाराले संसदीय दल अगाडि बढ्न सक्दैन’, कार्की भन्छन् ।

बहुमतका लागि सभामुखलाई हस्ताक्षर गराउँदा पनि दलभित्र छलफल नभएको कार्कीले बताएका छन् । कांग्रेसकै अर्का सांसद अमृत अर्याल सर्वोच्चले २ पटकसम्म मुख्यमन्त्रीको नियुक्ति बदर गर्नुले कांग्रेसको साख गिरेको बताउँछन् ।

‘कांग्रेस संविधान र लोकतन्त्रको रक्षा गर्ने पार्टी हो । यी पार्टीले २–२ पटक संविधान मिच्दा देशैभर कांग्रेसको बारेमा राम्रो सन्देश गएन । यी दुवै निर्णय हुँदा संसदीय दलको बैठकमा कुरा भएन । सभाको अध्यक्ष गर्नेलाई मतदान गराउने विषयमा मैले असहमति जनाएको थिएँ’, अर्याल सुनाउँछन् ।

अर्यालले सभाका अध्यक्षलाई मत हाल्न लगाउने विषयमा सत्ता गठबन्धनको बैठकमा भएको प्रसङ्ग सुनाउँदै भने, ‘माथिबाटै निर्णय भएर आएको हो भने कांग्रेसको हिमायती भएका कारणले भोट त हाल्छु तर सुझाव दिनका लागि बोलाइएको हो भने सभा अध्यक्षले मत हाल्नु संवैधानिक होइन भनेर भनेको थिएँ ।

‘अहिलेसम्म संसदीय दलको नेता उद्धवजी नै हो । भोलि को हुन्छ र के हुन्छ दलको बैठकले टुङ्गो लगाउँछ’, उनले भने ।

थापानिकट प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले दलको नेता फेर्ने विषयमा कुरा नभएको बताए । बाहिर आएका कुराले अर्थ नराख्ने उनको प्रष्टोक्ति छ ।

संसदीय दलका नेता उद्धव थापाले भने सभामुखलाई हस्ताक्षर गराएर बहुमत सिद्ध गर्ने सभाअध्यक्षलाई मतदाता गर्न लगाउने निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको भएको बताउँदै आएका छन् । उनले माथिको निर्णय भएको भन्दै दुवै पटक आफ्नो दोष नभएको स्पष्टीकरण दिइरहेका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीको शपथका बेला पत्रकारसँग कुरा गर्दै उनले दुई–दुई पटक मुख्यमन्त्रीको नियुक्ति खारेजी हुँदा समेत आफूलाई कुनै पछुतो नभएको बताएका थिए ।

     नेपाल प्रेसबाट

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।