मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:३९ Sunday, November २२, २०२६

इजरायलमा नेपाली विद्यार्थीको मृत्युपछि शोकमा सुदूरपश्चिम

शेयर८.९K०

 

इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् ।

आतङ्ककारी हमलामा १० नेपाली विद्यार्थी मारिएपछि मङ्गलवार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् ।

सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् ।

‘प्यालिस्टेनी हमास समूहको आक्रमणमा परेर नेपाली विद्यार्थीको ज्यान गएको दुःखद खबरले विश्वविद्यालय पनि अहिले परिवार शोकमा डुबेको छ,’ सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले भने, ‘यो घटनाले विश्वविद्यालय परिवार मात्रै होइन, सिङ्गो शैक्षिक क्षेत्र र राष्ट्रियस्तरमै अपूरणीय क्षति पुगेको छ ।’

उनका अनुसार विद्यार्थी मारिएको शोकमा विश्वविद्यालय मातहतका निकायमा शोकसभा आयोजना भइरहेको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका–११ का गणेशकुमार नेपाली, जोशीपुर–५ का आशीष चौधरी, लेकम–४ दार्चुलाका दीपेशराज विष्ट, डोटीका राजन फुलारा, पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीको आक्रमणमा निधन भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी सम्पर्कविहीन छन् । उक्त विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत भदौ २५ र २६ गते ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए ।

नेपाली विद्यार्थी मारिएको घटनाले विक्षिप्त बनाएको टीकापुर कृषि क्याम्पसका तत्कालीन डिन लालप्रसाद अमगाईंले बताए । ‘आफ्ना विद्यार्थी इजरायल जाँदा निकै हर्षित थिएँ, एक महिनामै यस्तो दुःखद खबर सुनियो,’ उनले भने, ‘खुसी क्षणभरमै समाप्त भयो ।’

२८ भदौमा अमगाईंको कृषि क्याम्पसमा कार्यकाल सकिएको थियो । उक्त विश्वविद्यालयबाट कृषि सङ्कायको स्नातक तह उत्तीर्ण गरेर प्रयोगात्मक अध्ययनका साथै कमाइका लागि विद्यार्थी इजरायल गएका थिए ।

सो विश्वविद्यालयले पहिलो पटक इजरायली राजदूतावासको समन्वयमा त्यहाँको सेडट नेगेभ कलेजसँगको सम्झौतामा विद्यार्थीहरू ११ महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि गत भदौ २५ गते १५ र २६ गते ३४ गरेर ४९ जना नेपाली विद्यार्थी इजरायल पठाएको थियो ।

विद्यार्थीले कृषि सीप सिक्नुका साथै केही आम्दानी गर्ने उद्देश्यले विश्वविद्यालयले प्रयोगात्मक अभ्यासका लागि त्यहाँ पठाएको हो ।

रासस

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।