मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:२५ Monday, November २३, २०२६

आरिपको अर्धसतकमा अन्तिम खेलमा आयरल्याण्ड वल्भ्समाथि नेपाल ‘ए’ को रोमाञ्चक जित

शेयर८.१K०

नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टी २० सिरिजको तेस्रो तथा अन्तिम खेलमा रोमान्चक जित दर्ता गरेको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ३ रनको सनसनीपूर्ण रोमाञ्चक जित दर्ता गरेको हो ।

नेपालले प्रस्तुत गरेको २ सय १४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वल्भ्सले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन मात्रै बनाउन सक्यो ।

वल्भ्सलाई अन्तिम ओभरमा २० रन आवश्यक परेको स्थितिमा जम्मा १६ रन मात्र जोड्न सकेको थियो । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा राशिद खानले १ रन मात्र दिएपछि नेपाल जित हात पार्न सक्यो ।

यससँगै आयरल्यान्डले २-१ को अन्तरमा सिरिज कब्जा गर्यो । वल्भ्सले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । बुधबारदेखि ३ खेलको एकदिवसीय सिरिज सुरु हुनेछ ।

आजको खेलमा फिओन ह्यान्डले ७ बलमा २२ रनको आक्रामक इनिङ खेले पनि उनी अन्तिम ओभरको पाँचौ बलमा रन आउट भए । उनले त्यसअघि १ चौका र २ छक्का प्रहार गर्दै वल्भ्सलाई खेलमा कायम राखेका थिए ।

त्यसअघि स्पिनर विपिन खत्रीले चौथो ओभरमा दुवै ओपनरलाई पेभेलियन फर्काएर आयरल्यान्डको आक्रामक सुरुवातमा ब्रेक लगाए । उनले दोस्रो बलमा जेम्स मक्कलमलाई ७ रनमा आउट गरे । त्यसपछि पाँचौ बलमा रस अडेर पनि पेभेलियन फर्किए । उनले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ रन बनाए ।

छैटौं ओभरमा पिटर मुर २ रन जोड्दै विपिनकै शिकार बने । कप्तान निल रक ८ बलमा २ रन जोड्दै नारायण जोशीको पहिलो बलमा क्याच आउट भए । त्यसपछि मोर्गन टपिङ्ग र ग्यारेथ डेलानीले राम्रो साझेदारी गरे ।

पाँचौ विकेटका लागि यी दुईले १ सय २९ रनको साझेदारी निर्माण गरे । १८ औं ओभरमा मोर्गन राशिद खानको बलमा बाउन्ड्रीनजिक क्याच आउट भए । उनले ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनको योगदान दिए ।

१९ औं ओभरमा कमल सिंह ऐरीले ग्यारेथ डेलानीलाई आउट गर्दै नेपाललाई खेलमा बलियो स्थितिमा पुर्याए । अन्तिम २ ओभरमा ३२ रन आवश्यक पर्दा सेट ब्याटर डेलानी ६८ रनमा आउट भए । उनले ३७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे ।

नेपालका लागि विपिन खत्रीले १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । कमल ऐरी र नारायण जोशीले समान १ विकेट लिन सफल रहे ।

त्यसअघि आरिफ शेखको अर्धशतकमा पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोडेको थियो । नेपालका लागि आरिफ शेखले अविजित ९३ रनको योगदान दिए । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।

आरिफ ३३-३ को स्थितिमा क्रिजमा आएर अन्त्यसम्म डटेर खेले । उनले मध्यक्रममा बसिर अहमदसँग साझेदारी गर्दै बलियो योगफलसम्म पुग्न आधार तयार गरे । अन्त्यतिर राशिद र कमल सिंह ऐरीसँग उनले आक्रामक साझेदारी गरे ।

ओपनर देव खनाल ६ रनमा दोस्रो ओभरमा कट बिहाइन्ड भए । त्यसको २ बल पछि अर्का ओपनर लोकेश बम पनि ८ रनमा विकेटकिपरको हातबाट समातिए । कप्तान विनोद भण्डारी ११ रन जोड्दै पाँचौ ओभरमा आउट भएपछि नेपाल ३३-३ को स्थितिमा पुग्यो ।

बसिर र आरिफले चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । ११ औं ओभरमा बसिर १९ रन जोड्दै एलबीडब्लु आउट भए । पवन सर्राफले १२ बलमा १३ रन जोडे । लगत्तै नारायण जोशी १ रन जोड्दै नन स्ट्राइक एन्डमा रनआउट हुन पुगे ।

राशिद खानले १३ बलमा ३ छक्कासहित २४ रन जोडे । बाउन्ड्रीनजिक क्याच आउट हुनु अघि उनले आरिफसँग ४६ रनको साझेदारी गरे । त्यसपछि कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्कासहित नटआउट १९ रन बनाए ।

फिओन ह्यान्डले २ विकेट लिँदा लियाम मकार्थी, म्याथ्यु फोस्टर, ग्यारेथ डेलनी र ग्याभिन होएले समान १ विकेट हात पारे ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।