मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:०३ Sunday, November २२, २०२६

कञ्चनपुरको दोधारा-चाँदनीमा २४ घण्टामा यस वर्षको सबैभन्दा वर्षा मापन

शेयर१०.९K०

कैलाली  : वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको कैलारी गाउँपालिका-९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना बेपत्ता भएका छन्। नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै आइतबार नै कञ्चनपुरको बेलडाँडी गाउँपालिका-३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन्। नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले खोजी गरिरहेको छ। शनिबार डडेलधुरा पर्शुराम नगरपालिका-३ का ५६ वर्षीय नवराज पनेरुको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

गाउँ नजिकैको भातगडा भन्ने ठाउँमा रहेको खानेपानीको मुहान सरसफाइ गर्ने क्रममा माथिबाट खसेको पहिरोमा परी पनेरुको घटनास्थलमै मृत्यु भएको थियो । अविरल वर्षासँगै ती दुई जिल्लाका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना गरेको छ ।

सबैभन्दा बढी वर्षा मापन

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार-चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदी पारीको दोधारा-चाँदनीमा पछिल्लो २४ घण्टामा ५ सय ७३ मिलिमिटर वर्षा मापन भएको छ ।

कार्यालयका प्रमुख सञ्जय शाहले भने, ‘दोधारा-चाँदनीमा यति धेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा ५ सय १६ मिलिमिटर वर्षाको मापन गरिएको थियो ।’ अति भारी वर्षापछि दोधारा-चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ । धनगढीमा गएको १२ घण्टामा १ सय ८४ दशमलव ७ मिलिमिटर वर्षा मापन गरिएको छ ।

अझै पनि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन शाहले आग्रह गरेका छन् । २ सय मिमिभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ ।

वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुबानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् । डुबानमा परेको कैलालीको भजनी, जानकी नगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्व सूचना दिन यन्त्र गए रातिको बाढीले बगाएको छ । –रासस
 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।