मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५३ Sunday, November २२, २०२६

केटी जिस्काएको निहुँमा विराटनगरमा दुई समूहबीच ग्याङफाइट हुँदा  एक जनाको मृत्यु 

शेयर८.६K०

विराटनगर : सोमबार राति विराटनगरमा युवाहरूको दुई समूहबीच भएको झडपका क्रममा एक जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् ।

सोमबार राति करिब सवा १० बजे विराटनगर महानगरपालिका-२ नेपाल टेलिकमको अफिस नजिकै  झडप भएको थियो । सो घटनामा कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । उनका साथी कटहरी-१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेमध्ये रायको कोख र ढाडमा गम्भीर चोट लागेको छ । 

मुख्य बजार क्षेत्रमा भएको ग्याङफाइटको विषयमा प्रहरीले घाइतेहरू अस्पताल पुगेपछि मात्रै जानकारी पाएको थियो । ग्याङफाइटका क्रममा एउटा समूह भागेको थियो । घाइतेहरुलाई बटुवाले अस्पताल पु¥याएका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा विराटनगर-११ का २० वर्षीय सोनु गिरी, ताप्लेजुङका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरका २० वर्षीय सञ्जय गिरी र मोरङ रङ्गेलीका १६ वर्षीय एक बालकलाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलमा एउटा मोबाइल फेला परेको थियो । सोही मोबाइलबाट घटनामा संलग्नहरुसम्म पुगेको थियो ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार आइतबार युवाहरूका दुई समूहबीच युवती जिस्क्याएको विषयमा विवाद भएको थियो । पक्राउ परेका पक्षकी युवतीलाई मृतक तथा घाइते पक्षका युवाहरूले जिस्क्याएको पाइएको प्रहरीको भनाइ छ । यही विषयमा आइतबार दुई समूहबीच पनि विवाद भएको थियो ।

विवादको विषयलाई लिएर सोमबार राति मृतक तथा घाइते पक्षका १२–१३ जनाको समूह बाटो ढुकेर बसेको थियो । राति अर्को समूह पनि आएपछि झडप भएको थियो । झडपका क्रममा पक्राउ परेका शेर्पाले साथमा बोकेको कैंचीले मृतक करणलाई प्रहार गरेको पाइएको प्रहरीले बताएको छ । कैँची प्रहार गर्दा तीन जनालाई गम्भीर चोट लागेको थियो ।  घटनामा प्रयोग भएको कैची विराटनगर अस्पताल अगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको प्रहरीले बताएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको र घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।