मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२८ Sunday, November २२, २०२६

टीकापुर नगरपालिकाका करार र ज्यालादारीका कर्मचारी आन्दोलित

दुई महिनादेखि तलब नपाएको भन्दै उनीहरूले प्रमुख प्रशासनिक अधिकृतको कार्यालयमा धर्ना दिएका हुन् ।

शेयर१२.३K०

कैलालीको टीकापुर नगरपालिकाका करार र ज्यालादारीका कर्मचारी आन्दोलित भएका छन ।

दुई महिनादेखि तलब नपाएको भन्दै उनीहरूले प्रमुख प्रशासनिक अधिकृतको कार्यालयमा धर्ना दिएका हुन् ।

नगरपालिकाका विभिन्न वडा कार्यालय, वडास्थित स्वास्थ्य संस्थाहरू र कार्यालयका विभिन्न शाखामा करारमा कार्यरत कर्मचारीहरूले काम छोडेर मुख्य कार्यालयमा पुगेर धर्ना दिएका छन् । स्थायी कर्मचारीहरूले महिनैपिच्छे तलब पाए पनि करार कर्मचारीले माघ र फागुनको तलब नपाएको उनीहरूको गुनासो छ । ‘वडास्थित विभिन्न कार्यालय र शाखाबाट हाजिरी प्रमाणित भई नआएका कारण माघ महिनाको तलब पठाउन ढिलो भयो,’ नगरपालिकाका लेखापाल देवीकृष्ण जैसीले भने, ‘प्रमुख प्रशासकीय अधिकृत बिदा बस्नु भएकाले तलब पठाउन सकिएको छैन।’ टीकापुर नगरपालिकामा १३८ जना करार तथा ज्यालादारी कर्मचारी छन् भने ८४ जना स्थायी कर्मचारी छन् ।

नगरपालिकाका प्रशासकीय अधिकृत प्रमुख देवीप्रसाद आचार्यले नगरपालिकामा भएको निर्णयमा चित्त नबुझेको भन्दै कार्यपालिका सदस्यहरूले केही दिन यता अधिकृत मुख र प्रशासन शाखामा कार्यपालिका सदस्यहरूले तालाबन्दी गरेका कारण प्रशासनिक काम गर्न कठिनाइ भइरहेको बताए। आचार्यका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टीकापुरमा कामकाजका लागि खटाइएका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरी कार्यालयमा पुगेका छैनन् । कार्यकक्षमा तालाबन्दीपछि प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरी विदामा छन् ।

स्थायी कर्मचारीहरूले समयमै तलब पाउने करार र ज्यालादारीका कर्मचारीलाई तलब नपठाउनु कार्यालयको हेपाहा प्रवृत्ति भएको कर्मचारी गुनासो छ। ती कर्मचारीहरू भन्छन्, ‘दुई महिनादेखि तलब पाएको छैन, प्रमुख प्रशासकीय अधिकृत बिदामा हुनुहुन्छ। नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुँदा कार्यपालिकाको बैठक बस्नुपर्ने, बैँक खाताहरूमा हस्ताक्षर परिवर्तन गर्नुपर्ने लगायतका काम गर्न एक हप्ताभन्दा बढी समय लाग्ने भएकाले हामी आत्तिएका छौं ।’

नगरपालिकाको ४७औं कार्यपालिका बैठकमा मनपरी निर्णय गरेको भन्दै कार्यपालिका सदस्यहरूले फागुन २३ गते नगरपालिका प्रशासनमा लगाएको ताला खुलेको छैन भने नगरप्रमुख रामलाल डगौरा थारू एक कार्यक्रममा सहभागी हुन एक साताका लागि विदेश भ्रमणमा छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।