अनुसन्धान प्रक्रियामा रहेका मुद्दाहरू मिलाइदिने भन्दै प्रतिवादीका परिवारहरुसँग रकम असुली गर्ने एकजनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मुद्दा मिलाइदिने बहानामा रकम असुल गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी निवासी करिब ४० वर्षीय काशीराम थारुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले थारुलाई विभिन्न मिति र समयमा विविध कसूरमा संलग्न व्यक्तिहरू विरुद्ध अनुसन्धान प्रक्रियामा रहेका मुद्दाहरू मिलाइदिने भन्दै प्रतिवादीका परिवारसँग रकम लिएको आरोपमा नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार पक्राउ परेका थारुविरुद्ध ‘आपराधिक लाभ लिन नहुने’ कसूरमा बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जनाउनुभयो ।
यसैबीच प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा कसैले यस्ता प्रलोभन देखाएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।