मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२६ Monday, November २३, २०२६

एमाले सुदूरपश्चिमका सबै सांसद काठमाडौंमा, दल नेताबारे गुण्डुमा निर्णायक छलफल

शेयर८.१K०

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको विषयमा बढ्दै गएको आन्तरिक विवाद समाधान गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली ले प्रदेश सभा सदस्यहरूलाई काठमाडौं बोलाएका छन्।

ओलीको बोलाहटमा संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल सहित सुदूरपश्चिमका सबै ११ जना प्रदेश सभा सदस्य काठमाडौं पुगेका छन्। उनीहरूबीच देखिएको विवाद समाधानका लागि बुधबार भक्तपुरको गुण्डुमा छलफल तय गरिएको छ।

एक प्रदेश सभा सदस्यका अनुसार प्रारम्भिक रूपमा बिहान ११ बजेका लागि बैठक बोलाइएको जानकारी आए पनि औपचारिक समय अझै टुंगो लागेको छैन। “अध्यक्ष कमरेडसँग छलफल गर्न ११ बजे गुण्डु पुग्ने भन्ने कुरा आएको छ, तर समय निश्चित नभएकाले केही फेरबदल हुन सक्छ,” ती सदस्यले बताए।

सुदूरपश्चिम एमालेभित्र लामो समयदेखि संसदीय दलका नेता रावलको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त हुँदै आएको छ। दलभित्रैबाट नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठ्दै आएको र पछिल्लो समय त्यो अझ तीव्र बनेको देखिन्छ।

प्रतिनिधि सभाको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रदेशका नेता तथा सांसदहरूको टोलीले छुट्टाछुट्टै रूपमा अध्यक्ष ओलीलाई भेटेर रावललाई दल नेताबाट हटाउनुपर्ने माग राखेका थिए। उनीहरूले सकेसम्म सहमतिमै नेतृत्व परिवर्तन गर्नुपर्ने, अन्यथा संसदीय दलभित्र लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेता चयन गर्न दिनुपर्ने अडान लिएका छन्।

प्रदेशस्तरीय नेतापछि उपनेता सन्तोष शर्मा थापा सहितका केही सांसदले पनि हालै गुण्डु पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा दल नेता परिवर्तनसँगै प्रदेश सरकारमा मन्त्री हेरफेर गर्नुपर्ने एजेन्डा समेत उठाइएको स्रोतको दाबी छ।

स्रोतका अनुसार दलको नेतृत्व परिवर्तनको विषयमा अध्यक्ष ओली सकारात्मक देखिएका छन्। तर नयाँ नेता कसलाई बनाउने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन।

हाल दलको नेताका लागि उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र प्रदेश सभा सदस्य धर्मराज पाठक बीच प्रतिस्पर्धा देखिएको छ। थापा र मल्ल एमालेका केन्द्रीय सदस्य हुन् भने पाठक पूर्व प्रदेश सचिव रहिसकेका छन्।

वर्तमान दल नेता रावल भने पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए। त्यतिबेला थापा, मल्ल र रावल तीनै जनाले अध्यक्ष ओली निकट प्यानलबाट उम्मेदवारी दिएका थिए।

अब गुण्डुमा हुने छलफलले सुदूरपश्चिम एमाले संसदीय दलको नेतृत्व विवाद टुंग्याउने अपेक्षा गरिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।