कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूको अनुगमन गरेका छन्। बुधबार नगर प्रमुख रावतले शिक्षा शाखाका अधिकृत मानबहादुर मल्ल सहित विभिन्न विद्यालयको स्थलगत अनुगमन गरेका हुन्।
नगरपालिकाले हालै संस्थागत विद्यालयहरूको श्रेणी वर्गीकरण तथा शुल्क निर्धारण गरेपछि अभिभावकबाट विभिन्न गुनासा आउन थालेका बेला नगर प्रमुख रावत स्वयं विद्यालय अनुगमनमा निस्किएका हुन्। अभिभावकहरूले नगरपालिकाले निर्धारण गरेको शुल्क विगतका वर्षमा विद्यालयहरूले लिँदै आएको शुल्कभन्दा बढी भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
अनुगमनका क्रममा नगर प्रमुख रावतले संस्थागत विद्यालयहरूले शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराए–नगरेको विषयमा विशेष चासो राखेका थिए। उनले छात्रवृत्ति वितरण प्रक्रिया पारदर्शी र प्रभावकारी बनाउन विद्यालय प्रशासनलाई निर्देशनसमेत दिएका छन्।
यस्तै, विद्यालयमा कार्यरत शिक्षकहरूको विवरण, अध्यापन अनुमतिपत्र (Teaching License) भए–नभएको अवस्था तथा शैक्षिक गुणस्तर सम्बन्धी विषयमा समेत जानकारी लिएका थिए।
नगरपालिकाले संस्थागत विद्यालयलाई कानुनी व्यवस्था तथा स्थानीय तहको निर्णयअनुसार सञ्चालन गर्न अनुगमनलाई निरन्तरता दिने जनाएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।