कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको पायोनियर्स स्कलर्स एकेडेमीले सुदूरपश्चिममै पहिलोपटक वाद्यवादनको तालमा ‘म्युजिकल पीटी’ सुरु गरेको छ। विद्यालयले परम्परागत सांस्कृतिक बाजाको संरक्षण र विद्यार्थीमा अतिरिक्त सीप विकास गर्ने उद्देश्यसहित यो अभ्यास सुरु गरेको जनाएको छ।
हरेक दिन बिहान विद्यालय शुभारम्भसँगै सञ्चालन हुने पीटीलाई पायोनियर्सले यसपटक फरक ढंगले प्रस्तुत गरेको हो। विद्यालयले विद्यार्थीलाई मादल, हार्मोनियम, बाँसुरीलगायत परम्परागत वाद्यवादन बजाउन प्रशिक्षकमार्फत ७ दिनसम्म विशेष तालिम दिएपछि बिहीबारदेखि औपचारिक रूपमा म्युजिकल पीटी सुरु गरिएको विद्यालयका फाउन्डर प्रिन्सिपल कुलप्रसाद भट्टले जानकारी दिए।
पछिल्लो समय अधिकांश विद्यालयमा रेकर्ड गरिएको संगीतको भरमा पीटी गराउने चलन बढिरहेका बेला पायोनियर्सले भने प्रत्यक्ष वाद्यवादनमार्फत विद्यार्थीलाई अभ्यास गराउन थालेको हो। विद्यालयका फाउन्डर प्रिन्सिपल भट्टका अनुसार लोप हुँदै गइरहेका परम्परागत बाजाको संरक्षण र नयाँ पुस्तामा यसको महत्वबारे जागरण ल्याउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।
“आजभोलि परम्परागत बाजाका सामग्री विस्तारै हराउँदै गएका छन्। यसको संरक्षण गर्नु हाम्रो दायित्व पनि हो,” उनले भने, “विद्यार्थीले यस्तो सीप सिक्दा उनीहरू भविष्यमा आत्मनिर्भर बन्न पनि सक्छन्।”
म्युजिकल पीटीले विद्यार्थीमा अनुशासन, तालमेल, आत्मविश्वास र सांस्कृतिक चेतनासमेत विकास गर्ने अपेक्षा रहेको विद्यालयले बताएको छ। बिहानको सामूहिक अभ्यासमा विद्यार्थीहरू उत्साहका साथ सहभागी हुन थालेपछि अभिभावकबाट समेत सकारात्मक प्रतिक्रिया आउन थालेको विद्यालय प्रशासनले जनाएको छ।
२०७२ सालमा स्थापना भएको पायोनियर्स स्कलर्स एकेडेमी सुरुवाती चरणमा कक्षा ८ सम्म २४० विद्यार्थीबाट सञ्चालनमा आएको थियो। हाल कक्षा १० सम्म अध्ययन हुने यस विद्यालयमा १ हजार १ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
विद्यालयले शैक्षिक उपलब्धिमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। २०८१ सालको एसईई परीक्षामा एकजना ४ जीपीएसहित नगरपालिकामै उत्कृष्ट बनेको विद्यालयले २०८२ सालको नगरस्तरीय कक्षा ८ को परीक्षामा पनि ७ जना विद्यार्थीले ४ जीपीए ल्याउँदै शत प्रतिशत विद्यार्थीले सफलता हासिल गरेका छन्।
विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, सांस्कृतिक संरक्षण र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।