मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:५७ Monday, November २३, २०२६

तालको बक्यौता नतिर्नेलाई भजनी नगरपालिकाको कडाइ, सेवा सुविधा रोक्का

शेयर४.६K०

कैलालीको भजनी नगरपालिकाले तालतलैयाको ठेक्का लिएर बक्यौता नतिर्ने ठेकेदार तथा फार्ममाथि कडाइ गरेको छ। नगरपालिकाले बक्यौता नतिर्ने व्यक्ति तथा फार्मको नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधा रोक्का गरेको जनाएको छ।
नगरपालिकाको वैशाख १५ गते बसेको कार्यपालिका बैठकले बक्यौता नतिर्ने व्यक्ति तथा फार्मलाई प्रदान गरिने सबै प्रकारका सेवा सुविधा रोक्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिए। उनका अनुसार व्यक्तिगत स्वास्थ्य सेवाबाहेक अन्य सबै सेवा सुविधा रोकिएको छ। ठेक्का लिने व्यक्तिको तीन पुस्तेसम्मको विवरणका आधारमा सेवा सुविधा रोकिएको उनले बताए।
नगरपालिकाले २०७२ सालदेखि तालतलैया माछापालनका लागि ठेक्कामा सञ्चालन गर्दै आएको छ। तर ठेक्का लिने व्यक्ति तथा फार्मले सम्झौताअनुसारको रकम समयमा नतिर्दा नगरपालिकाको आन्तरिक राजश्व प्रभावित हुँदै आएको छ। नगरपालिकाको प्रमुख आन्तरिक आयस्रोतकै रुपमा तालतलैया रहेका छन्। भजनी क्षेत्रमा दर्जनौं तालतलैया रहेका छन्, जहाँ माछापालनका लागि उपयुक्त वातावरण मानिन्छ।
नगरपालिकाका अनुसार हालसम्म तालतलैयाको बक्यौता रकम पाँच करोड ६९ लाख ९४ हजार रुपैयाँ पुगेको छ। २७ वटा फार्म तथा व्यक्तिले अझै बक्यौता बुझाउन बाँकी रहेको जनाइएको छ।
सबैभन्दा बढी बक्यौता कैलाली मत्स्य तथा कृषि कम्पनी प्रालि का प्रेमबहादुर भुलको रहेको छ। उनले एक करोड ९२ लाख चार हजार ३६० रुपैयाँ तिर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ। दुई करोड २९ लाख ६६ हजार १५९ रुपैयाँमा ठेक्का लागेको घोरताल र गिदिनिया तालमध्ये हालसम्म ३७ लाख ७१ हजार ७९९ रुपैयाँ मात्रै भुक्तानी भएको राजश्व शाखा प्रमुख चिरञ्जीवी उपाध्यायले जानकारी दिए।
तालको बक्यौता नतिर्ने सूचीमा जनप्रतिनिधिसमेत परेका छन्। वडा नम्बर ४ का वडा सदस्य तालबहादुर चौधरीले आफ्नी श्रीमतीको नाममा लोटिहुवा–सोरहवा ताल ठेक्कामा लिएका थिए। २७ लाख ४७ हजार २९५ रुपैयाँमा सम्झौता भएको उक्त तालको हालसम्म २२ लाख ९७ हजार २९५ रुपैयाँ बक्यौता रहेको छ भने चार लाख ५० हजार रुपैयाँ मात्रै भुक्तानी भएको नगरपालिकाले जनाएको छ। सेवा सुविधा रोकिएपछि वडा सदस्य चौधरी पनि प्रभावित बनेका छन्।
वडा सदस्य चौधरीले सामुदायिक वन र नगरपालिकासँगको विवादका कारण ताल सञ्चालनमा समस्या हुँदा समयमै रकम तिर्न नसकिएको बताएका छन्। “बक्यौता नतिर्ने मनस्थिति होइन, विभिन्न विवादका कारण ताल सञ्चालन गर्न सकिएन,” उनले भने, “अब भने जेठभित्र जसरी पनि रकम तिर्छु।”
नगर प्रमुख केवल चौधरीले पटक–पटक ताकेता गर्दा पनि बक्यौता असुल हुन नसकेपछि सेवा सुविधा रोक्ने निर्णय गर्नुपरेको बताए। “अब पनि बक्यौता नतिरे थप कानुनी प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइनेछ,” उनले भने।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.६K०

सिफारिस

Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।