कैलालीको घोडाघोडी नगरपालिका मा फेला परेको ठूलो परिमाणको खयर जातको अवैध काठ प्रकरणमा प्रदेश वन निर्देशनालयले सबडिभिजन वन कार्यालय साडेपानीका प्रमुख वरिष्ठ वन अधिकृत शेरबहादुर भण्डारीसँग स्पष्टीकरण मागेको छ।
भण्डारी बिदामा रहेको समयमा गत बुधबार डिभिजन वन कार्यालय पहलमानपुर र सबडिभिजन वन कार्यालय साडेपानी मातहतका कर्मचारीहरूले वडा नम्बर २ जोकाहास्थित शुक्तिकाँडा नदी नजिक घाटगद्दी गरेर राखिएको अवस्थामा २२५ गोलिया बराबर ६३८.३२ क्यु फिट खयर जातको अवैध काठ नियन्त्रणमा लिएका थिए।
उक्त काठ कहाँबाट काटिएको हो, सामुदायिक वनबाट ल्याइएको हो वा राष्ट्रिय वन क्षेत्रबाट तस्करी गरिएको हो भन्ने विषय अझै खुल्न सकेको छैन। काठ कसले, कहाँबाट ल्याएर त्यहाँ संकलन गरेको हो भन्नेबारे समेत वन कार्यालयसँग विवरण छैन।
यसै प्रकरणमा काठसँगै घटनास्थलबाट एउटा ट्राली समेत नियन्त्रणमा लिइएको थियो। उक्त ट्रालीबारे निर्भीक पोष्टले गहिरो खोज गरेको थियो। सो क्रममा ट्रालीमा “सिस ट्रेडर्स एन्ड ग्रिल उद्योग, बर्दगोरिया गाउँपालिका–१, बौनिया” लेखिएको भेटिएको थियो। उक्त ट्राली र काठबीचको सम्बन्धबारे समेत अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
घटनाको अचम्मको कुरा त के छ भने नियन्त्रणमा लिइएको काठमा नक्कली टाँचा प्रयोग गरिएको पाइएको छ। उक्त टाँचा कसले र किन प्रयोग गर्यो भन्ने विषयमा समेत कार्यालयले स्पष्ट जानकारी दिन सकेको छैन।
यस प्रकरणको पहिलो रिपोर्टिङ निर्भीक पोष्टले गरेको थियो। निरन्तर फलोअप रिपोर्टिङपछि प्रदेश वन निर्देशनालयले आज भण्डारीसँग स्पष्टीकरण मागेको हो।
फलोअप रिपोर्टिङकै क्रममा बिहीबार भण्डारीले निर्भीक पोष्टको टोलीसँग आफू कोहलपुरमा रहेको र बेलुकासम्म कार्यालय आइपुग्ने बताएका थिए। तर निरन्तरको खोजीपछि उनी कार्यालयमै भेटिएका थिए।
सो क्रममा भण्डारीको हाजिरी विवरणमा समेत कैफियत फेला परेको थियो। वैशाख महिनामा १२ दिन मात्रै हाजिर गरेका भण्डारीले जेठ महिनामा कुनै हाजिरी नगरी सिधै १९ गतेपछिको हाजिरी गरेको तथा उक्त हाजीरीमा समेत टिफिक्स प्रयोग गरिएको अवस्थामा भेटिएको थियो।
यति ठूलो परिमाणमा बरामद गरिएको काठ प्रकरणमा कर्मचारीकै मिलेमतो हुन सक्ने स्थानीयले आशंका गरेका छन्।
भण्डारीका विवादित गतिविधि, अवैध काठ प्रकरणको वास्तविक अवस्था तथा कार्यालयीय भूमिकाबारे प्रदेश वन निर्देशनालयले भण्डारीलाई स्पष्टीकरण सोधिएको डिभिजन वन कार्यालय पहलमानपुर का प्रमुख जनकराज पाध्यायले पुष्टि गरेका छन् ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।