लम्किचुहा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापनको विषयलाई लिएर विवाद चर्किरहेका बेला लम्किचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएकी छन्।
नगर प्रमुख शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्री शाहले लम्किचुहा प्रादेशिक अस्पतालको विषयमा देखाएको रवैया “गैरजिम्मेवार, दम्भपूर्ण र सत्ता दुरुपयोगको पराकाष्ठा” भएको उल्लेख गरेकी छन्। उनले जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयलाई व्यक्तिगत शक्ति प्रदर्शन, आसेपासेको राजनीति र राजनीतिक प्रतिशोधको माध्यम बनाइएको आरोप लगाएकी छन्।
मेयर शाहीले लम्कीमा आन्दोलनरत पक्ष तथा आफ्ना निकट व्यक्तिहरूसँग गरिएको छलफल र त्यसपछिको पत्रकार सम्मेलनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। पत्रकार सम्मेलनमा व्यक्त कतिपय अभिव्यक्तिलाई “कपोकल्पित, भ्रामक र आधारहीन” भन्दै त्यसले समस्या समाधानभन्दा जनतालाई दिगभ्रमित र उत्तेजित बनाउने काम गरेको आरोप लगाएकी छन्।
नगर प्रमुख शाहीले स्थानीय सरकारलाई बेवास्ता गर्दै कानुनमाथि हस्तक्षेप गर्ने, समाजलाई उक्साउने तथा कार्यकर्ताबीच द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरेकी छन्। “सहकार्यभन्दा दादागिरी र समाधानभन्दा उत्तेजना रोजिएको” भन्दै उनले यस्तो शैलीलाई अलोकतान्त्रिक राजनीतिक अहंकारको संज्ञा दिएकी छन्।
उनले यदि एकतर्फी रूपमा बलमिच्याइँ गर्दै अस्पतालभित्र प्रवेश गरी मुख्यमन्त्रीद्वारा गठन गरिएको समिति मार्फत कुनै संरचना वा बोर्ड अनावरण गरिए नगरपालिका त्यस्ता संरचना हटाउन बाध्य हुने चेतावनी पनि दिएकी छन्।
नगर प्रमुख शाहीले “दादागिरी शैलीमा गठन गरिएको विकास समिति” विघटन गरी औपचारिक वार्ता, छलफल र समन्वयमार्फत समाधान खोज्न आफूहरू तयार रहेको उल्लेख गरेकी छन्। आफ्नै पार्टीका जनप्रतिनिधिसँग संवाद गर्न नसक्ने तथा कार्यकर्तालाई भड्काउने शैलीले पार्टीभित्र लामो समय योगदान गरेका नेता–कार्यकर्ताको राजनीतिक भविष्य प्रभावित पार्ने अवस्था सिर्जना भएको आरोप पनि उनले लगाएकी छन्।
साथै, उनले अस्पताल कुनै व्यक्तिको राजनीतिक स्टन्ट गर्ने ठाउँ नभएको उल्लेख गर्दै गैरकानुनी रूपमा समिति, बोर्ड वा संरचना थोपर्ने प्रयास भए नगरपालिका कानुनअनुसार कडा कदम चाल्न बाध्य हुने बताएकी छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार लम्कीमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेश सरकारले लम्की अस्पताललाई जसरी पनि प्रादेशिक अस्पतालका रुपमा सञ्चालन गर्ने बताएका थिए।
अन्त्यमा नगर प्रमुख शाहीले संवाद, सहकार्य र समन्वयकै माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै तीनै तहका सरकारबीच सहकार्यबाट मात्रै जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण बनाउन सबै पक्षलाई आह्वान गरेकी छन्।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।