मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:०६ Sunday, November २२, २०२६

१० दिने तालिमपछि घोडाघोडीमा दालमोठ उद्योग स्थापना, २० स्थानीय आयआर्जनमा जोडिए

यसअघि दुना–टपरी उद्योग, मसला उद्योग र चिप्स उद्योग स्थापना गरिसकेको नगरपालिकाले दालमोठ उद्योगलाई पनि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

शेयर७.२K०

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलारमा १० दिने दालमोठ बनाउने तालिम सम्पन्न भएसँगै स्थानीय स्तरमै दालमोठ उद्योग स्थापना गरिएको छ। स्थानीय नागरिकलाई सीप, उत्पादन र आयआर्जनसँग जोड्ने उद्देश्यका साथ नगरपालिकाले सञ्चालन गरेको तालिमपछि उद्योग स्थापना गरिएको हो।
घोडाघोडी नगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा जेठ ८ गतेदेखि सञ्चालन भएको तालिम आइतबार सम्पन्न भएको हो। तालिममा सोही टोलका २० जना स्थानीय सहभागी भएका थिए। सहभागीमध्ये १८ जना महिला र २ जना पुरुष रहेका छन्। तालिम सम्पन्न भएसँगै उनीहरूलाई संगठित गरी सामूहिक रूपमा सञ्चालन हुने दालमोठ उद्योगको समेत उद्घाटन गरिएको छ। 20260531_102816उद्योगको उद्घाटन नगर प्रमुख खडकबहादुर रावत र नगर प्रवक्ता घनश्याम ओझाले संयुक्त रूपमा गरेका हुन्। स्थानीय स्तरमै उत्पादन वृद्धि गर्दै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसहित उद्योग स्थापना गरिएको नगर प्रमुख रावतले बताए।
उद्योग सञ्चालनका लागि आवश्यक दालमोठ उत्पादन गर्ने मेसिनसमेत नगरपालिकाले उपलब्ध गराएको छ। उद्योग स्थापनामा ८० प्रतिशत लगानी नगरपालिकाको रहेको छ भने २० प्रतिशत लगानी सहभागीहरूको रहेको बताइएको छ। यसले उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न तथा सहभागीहरूमा स्वामित्वको भावना विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
तालिमपछि उद्योग स्थापना हुनुले सहभागीहरू उत्साहित भएका छन्। सीपमूलक तालिममा मात्र सीमित नभई उत्पादन र व्यवसाय सञ्चालनको अवसर प्राप्त भएपछि आफूहरू आर्थिक रूपमा आत्मनिर्भर बन्ने विश्वास बढेको उनीहरूको भनाइ छ। गाउँमै बसेर आम्दानी गर्ने वातावरण बनेको भन्दै सहभागीहरूले नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्।
समापन कार्यक्रममा बोल्दै नगर प्रवक्ता घनश्याम ओझाले नगरपालिकाले स्थानीय नागरिकलाई आर्थिक गतिविधिसँग जोड्ने नीतिअनुरूप विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले नगरका विभिन्न वडामा सीपमूलक तथा आयआर्जनमुखी तालिमहरू सञ्चालन गर्दै विशेषगरी महिलाहरूलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिइएको जानकारी दिए।
“तालिम दिएर मात्र होइन, उत्पादन र बजारसँग जोड्ने प्रयास पनि नगरपालिकाले गरिरहेको छ,” उनले भने।
उद्यम सहजकर्ता जुगिना चौधरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा उद्यम विकास शाखामार्फत नगरपालिकाका विभिन्न वडामा चार वटा उद्योग स्थापना भएका छन्। यसअघि दुना–टपरी उद्योग, मसला उद्योग र चिप्स उद्योग स्थापना गरिसकेको नगरपालिकाले दालमोठ उद्योगलाई पनि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
नगरपालिकाले सञ्चालन गरिरहेका यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा उद्यमशीलता विकास, महिलाको आर्थिक सशक्तीकरण तथा स्थानीय उत्पादन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको सरोकारवालाहरूको भनाइ छ। तालिम, प्रविधि र लगानीलाई एकैसाथ जोड्ने नगरपालिकाको प्रयासले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।