मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:५१ Monday, November २३, २०२६

हिँड्ने क्रममा ठोकिएपछि डीएसपी चौधरी र युवाबीच विवाद, तीन जना प्रहरी नियन्त्रणमा

डीएसपी चौधरी भन्छन्– ‘मापसे गरेका युवाले अभद्र व्यवहार गरे’

शेयर१८४.१K०

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी पुनः विवादमा तानिएका छन्। यसपटक उनीमाथि सडकमा सामान्य रूपमा ठोक्किएको विषयलाई लिएर तीन जना युवालाई नियन्त्रणमा लिएको आरोप लागेको हो।

शुक्रबार साँझ डीएसपी चौधरी सुखड क्षेत्रमा हिँडिरहेका बेला तीन जना युवासँग सामान्य रूपमा ठोक्किन पुगेका थिए। त्यसक्रममा केहीबेर भनाभनसमेत भएको बताइएको छ। डीएसपी चौधरी सादा पोशाकमा रहेकाले युवाहरूले सुरुमा उनलाई चिनेका थिएनन्।

स्रोतका अनुसार पछि डीएसपी चौधरी भएको थाहा पाएपछि युवाहरूले गल्ती स्वीकार गर्दै माफी मागेका थिए। तर त्यसलगत्तै उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको बताइएको छ।

शुक्रबार राति करिब ८ः३० बजे दुई जनालाई नियन्त्रणमा लिइएको थियो भने अर्का एक जनालाई शनिबार बिहान नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखिएको स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी योगेन्द्र तिमिल्सेनाले डीएसपी चौधरीसँग भएको विवादपछि ती युवाहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरे।

युवाहरूका आफन्तले शनिबार दिउँसो इलाका प्रहरी कार्यालय पुगेर गल्ती स्वीकार गरिसकेकाले छाडिदिन आग्रह गरेको भए पनि उनीहरूलाई रिहा नगरिएको स्रोतको भनाइ छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबार मुद्दा दर्ता गर्ने तयारी भइरहेको समेत स्रोतले दाबी गरेको छ।

घटनापछि सामान्य विवादलाई लिएर युवाहरूलाई नियन्त्रणमा लिनु आवश्यक थियो वा थिएन भन्ने विषयमा स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ।

यता डीएसपी प्रसन्नराज चौधरीले भने युवाहरूको समूहले अत्यधिक मदिरा सेवन (मापसे) गरी अभद्र व्यवहार गरेकोले उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्। उनीहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने समेत डीएसपी चौधरीले बताए।

सामान्य विवादबाट सुरु भएको घटनालाई मुद्दासम्म पुर्‍याउने तयारी गरिएको भन्दै डीएसपी चौधरीको आलोचना हुन थालेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१८४.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।