मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:५१ Sunday, November २२, २०२६

धनादेवीको टेम्पो वन कर्मचारीले भीरबाट खसालिदिएपछि…

धामीका अनुसार डिभिजन वन कार्यालय धनगढीले गाईमारेडाँडास्थित सडकछेउमा राखिएको उनको टेम्पोबाट सामान झारेर भीरतर्फ खसालिदिएको थियो।

शेयर४.८K०

एउटा पुरानो टेम्पोकै सहारामा कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी धनादेवी धामी परिवार पाल्दै आइरहेकी थिइन्। जीविकोपार्जनको एकमात्र आधार रहेको जीएसए टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट फालिदिएको धामीले बताइन्।

धामीका अनुसार डिभिजन वन कार्यालय धनगढीले गाईमारेडाँडास्थित सडकछेउमा राखिएको उनको टेम्पोबाट सामान झारेर भीरतर्फ खसालिदिएको थियो। घटनापछि टेम्पोमा क्षति पुगेको र त्यसैसँगै परिवारको आयआर्जनको मुख्य स्रोतसमेत बन्द भएको उनले बताइन्।

“सामान झार्नुभयो, गाडी हामी आफैँ घर लैजान्छौँ भन्यौँ, तर कसैले सुन्नुभएन,” धामीले गुनासो गर्दै भनिन्, “टेम्पो बिग्रिएपछि अहिले परिवारको दैनिकी नै संकटमा परेको छ।”

वन कार्यालयले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत उक्त क्षेत्रमा ४७ वटा संरचना हटाइएको जनाएको छ। तर स्थानीयवासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीविकोपार्जनको माध्यममाथि क्षति पुर्‍याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

धनादेवीले राज्यका निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। “यदि मैले गल्ती गरेकी थिएँ भने कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्थ्यो,” उनले भनिन्, “तर मेरो परिवारको रोजीरोटीको आधार नै किन नष्ट गरियो ?”

डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी जीवछ यादवले पटक–पटक हटाउन आग्रह गरिए पनि अटेर गरिएकाले संरचना हटाउने काम गरिएको बताए।

“त्यो चलाउनेभन्दा पनि व्यापार गर्न प्रयोग गरिने अटो थियो। पटक–पटक हामीले हटाउन भनेका थियौँ, तर मान्नुभएन,” उनले भने।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटनाबारे छानबिन सुरु गरिएको बताए।

“हामीले पनि भिडियो आएपछि मात्रै थाहा पायौँ। इलाका प्रहरी कार्यालय मालाखेतीले पीडित महिलासँग समन्वय गरिसकेको छ। घटनाबारे के–कस्तो हो, हामी डिभिजन वन कार्यालयसँग पनि बुझ्दै छौँ,” उनले भने।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।