धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–२ का २८ वर्षीय गोविन्द धामी रहेका छन्। सोमबार राति करिब साढे १ बजे धनगढी उपमहानगरपालिका–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेस नजिक सामान्य विवादका क्रममा सिंहमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोप लागेका २७ वर्षीय भरत बोहरा लगायत अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
कुटपिटबाट सिंहको बायाँ आँखाको भौँमा सामान्य चोट लागेको थियो। उनको नवजीवन अस्पताल धनगढीमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।