कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
शुक्रबार साँझ करिब ५ः४० बजे दशरथचन्द नगरपालिका–४ स्थित दशरथचन्द राजमार्गमा सुदूरपश्चिम यातायात प्रा.लि.को सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २५ देखि ३० मिटर तल खसेर दुर्घटनामा परेको हो।
सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी नायब उपरीक्षक दीपककुमार रायको नेतृत्वमा २५ सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको उनले बताए।
दुर्घटनामा परी दशरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय विरेन्द्रबहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालक पाटन नगरपालिका–८ निवासी ३७ वर्षीय केशव सिंह महरा सकुशल रहेका छन्।
बसमा चालकसहित ११ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने पाटन नगरपालिका–९ खोड्पे निवासी ३५ वर्षीय कविराज भट्टको अवस्था मध्यम रहेको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते हुनेमा दशरथचन्द नगरपालिका–४ निवासी २७ वर्षीया लक्ष्मी ऐरी, २८ वर्षीय हेमविक्रम जोशी, ६० वर्षीया पूर्णदेवी जोशी र २२ वर्षीया पूजा कार्की रहेका छन्। त्यसैगरी दोगडाकेदार गाउँपालिका–२ निवासी २० वर्षीया ललिता लावड र ३२ वर्षीया जानकी लावड, दशरथचन्द नगरपालिका–६ का ३३ वर्षीय लक्ष्मण साउद, दशरथचन्द नगरपालिका–५ निवासी ५२ वर्षीय कर्णदेव भट्ट तथा पाटन नगरपालिका–९ खोड्पे निवासी ३५ वर्षीय कविराज भट्ट घाइते भएका छन्।
बस सडकबाट करिब २५–३० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनापछि तत्काल प्रहरी टोली परिचालन गरी उद्धार तथा उपचारको व्यवस्था गरिएको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।