कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित कञ्चन बहुमुखी क्याम्पसमा निर्माणाधीन भवनको काम राजनीतिक विवादका कारण रोकिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको वित्तीय हस्तान्तरण अन्तर्गत ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको काम प्रशासनिक प्रक्रियामा अल्झिँदा निर्माणसँगै भुक्तानी प्रक्रिया समेत प्रभावित भएको छ।
क्याम्पस रहेको जग्गामाथि यसअघि कृष्णपुर सहकारी (विघटित साझा संस्था) ले स्वामित्व दाबी गर्दै कञ्चन बहुमुखी क्याम्पस र कृष्णपुर नगरपालिकालाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले सहकारीको दाबी खारेज गर्दै जग्गामाथि सरकारी स्वामित्व कायम हुने फैसला गरिसकेको स्रोतले बताएको छ।
यहीबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कृष्णपुर–५ समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दर्ता गराउँदै साझा घरको जग्गामा भवन निर्माण गरिएको दाबी गर्दै निर्माण कार्य तत्काल रोक्न तथा भुक्तानी प्रक्रिया स्थगित गर्न माग गरेको छ। जग्गाको वास्तविक अवस्था स्पष्ट नभएसम्म निर्माण रोक्नुपर्ने रास्वपाको माग छ।
यता कञ्चन बहुमुखी क्याम्पसले भने अदालतबाट भएको फैसलासहितका आवश्यक कागजात कृष्णपुर नगरपालिकामा बुझाइसकेको र प्रचलित कानुनअनुसार नै भवन निर्माण भइरहेको जनाएको छ।
रास्वपाको निवेदनपछि जिल्ला प्रशासन कार्यालयले कृष्णपुर नगरपालिकालाई आवश्यक सहजीकरण तथा प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ। जिल्ला प्रहरी कार्यालयलाई समेत सुरक्षा तथा आवश्यक सहजीकरणका लागि बोधार्थ पठाइएको छ।

अदालतबाट विवाद टुंगिसकेको र सरकारी स्वामित्व स्थापित भइसकेको अवस्थामा पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको विवादका कारण विकास निर्माण प्रभावित भएको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार लामो समयदेखि प्रतिक्षामा रहेको शैक्षिक पूर्वाधार निर्माण कार्य रोकिँदा विद्यार्थी र समुदाय प्रत्यक्ष रूपमा प्रभावित हुने अवस्था सिर्जना भएको छ।
निर्माण कार्य कहिले पुनः सुरु हुने भन्ने विषय भने अझै अनिश्चित बनेको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।