कैलाली कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार साँझ ६:३० बजे प्रहरी सहायक हवल्दार अमराज बुढाको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१ स्थित बजार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका जानकी गाउँपालिका–९ का २४ वर्षीय सुमित साउद तथा लागूऔषध मुद्दाका कैदी भजनी नगरपालिका–५ का २३ वर्षीय सुशिल साउद रहेका छन्।
उनीहरू २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका थिए। लामो समयदेखि फरार रहेका दुवै जनालाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी तिमिल्सिनाले जानकारी दिए।
पक्राउ परेका दुवै कैदीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।