कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ भने एक अधिकृत घाइते भएका छन्।
बिहीबार बिहान ९:१७ बजे मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास चलिरहेका बेला ग्रिनेड पड्काउने क्रममा नेपाली सेनाका हुद्दा हिमाल विक्रम बिष्ट गम्भीर घाइते भएका थिए। उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेर चोट पुगेको थियो।
उक्त घटनामा सह–सेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका थिए। जोशीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि गोराङ्गे ब्यारेकमै राखिएको थियो। त्यसपछि थप उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा हुद्दा बिष्टको दिउँसो १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।
घाइते सह–सेनानी जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।