मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४९ Sunday, November २२, २०२६

घोडाघोडी नगरपालिकाको सम्मान मापदण्डमाथि प्रश्न : सबैका लागि बनाइएको मापदण्ड अन्तिम समयमा कसरी फेरियो ?

शेयर४१.३K०

घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेपछि नगरपालिकाले आफैं बनाएको मापदण्डको कार्यान्वयन प्रक्रियामाथि प्रश्न उठेको छ। नगरपालिकाले बनाएको मापदण्डमा सबै विद्यालयका लागि एउटै आधार तय गरिएको भए पनि सम्मान वितरणका क्रममा फरक व्यवहार देखिएको भन्दै शिक्षकहरूले आपत्ति जनाएका छन्।

शनिबार आयोजित कार्यक्रममा नगरस्तरीय आधारभूत तह (कक्षा ८) तथा माध्यमिक शिक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। तर, सम्मानका लागि नगरपालिकाले बनाएको मापदण्ड र अन्तिम निर्णयबीच अन्तर देखिएको भन्दै प्रश्न उठेको छ।

नगरपालिका आफैंले बनाएको मापदण्डअनुसार, सम्मानका लागि सम्बन्धित परीक्षामा कम्तीमा ५० जना विद्यार्थी सहभागी गराएको विद्यालयलाई मात्र समावेश गर्ने आधार तय गरिएको थियो। यही मापदण्डलाई आधार बनाएर कक्षा ८ तर्फ केही विद्यालय सम्मानबाट वञ्चित भएका छन्।

तर, एसइईतर्फ भने नगरपालिकाले तोकेको यही मापदण्ड लागू नभएको देखिएको छ। प्राप्त विवरणअनुसार, न्यू स्टार इङ्ग्लिस बोर्डिङ स्कुलबाट एसइई परीक्षामा २१ जना र पायोनियर स्कलर्स एकेडेमी, पहलमानपुरबाट ३४ जना विद्यार्थी सहभागी भएका थिए। दुवै विद्यालयको नगरपालिकाले तोकेको ५० विद्यार्थीको सीमा नपुगेको भए पनि सम्मान प्राप्त गरेका छन्।

यता, कक्षा ८ तर्फ नगरभित्र उत्कृष्ट नतिजा हासिल गरेका तथा धेरै ४ जीपीए ल्याउने विद्यार्थी उत्पादन गरेका केही विद्यालय भने सम्मानबाट वञ्चित भएका छन्। कक्षा ८ मा नगरपालिका भित्र उत्कृष्ट नतिजा हासिल गर्दै सबैभन्दा बढी ४ जीपीए प्राप्त गरेको चिल्ड्रेन गार्डेन इङ्ग्लिस बोर्डिङ स्कुल सहित शतप्रतिशत नतिजा ल्याउने ८ विद्यालयलाई सम्मानबाट वञ्चित गरिएको छ । यसले मापदण्ड सबैका लागि समान रूपमा लागू भयो वा भएन भन्ने प्रश्न उठाएको छ।

IMG-20260704-WA0049संस्थागत विद्यालय घोडाघोडी क्लस्टरका अध्यक्ष रविलाल आचार्यले सम्मानका लागि विद्यार्थी सङ्ख्यालाई मुख्य आधार बनाउनु नै वैज्ञानिक आधार नभएको बताएका छन्।

“विद्यालयले हासिल गरेको नतिजाका आधारमा आयोजना गरिएको सम्मान कार्यक्रममा विद्यार्थी सङ्ख्यालाई मुख्य मापदण्ड बनाइ सम्मान गरिनु उचित तथा न्यायसङ्गत मान्न सकिँदैन। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयको वास्तविक उपलब्धिलाई विद्यार्थी सङ्ख्याका आधारमा मूल्याङ्कन गर्नु सम्मानको मूल उद्देश्यसँग पनि मेल खाँदैन। विद्यार्थी सङ्ख्या बढी वा कम हुनु मात्र विद्यालयको उत्कृष्टता वा कमजोरीको वैज्ञानिक आधार हुन सक्दैन,” आचार्यले भने।

स्रोतका अनुसार सुरुमा तयार गरिएको सम्मान सूचीमा केही विद्यालयको नाम समावेश नभएको तर अन्तिम समयमा सूची परिवर्तन भएको दाबी छ । विश्वस्त स्रोतका अनुसार सुरुमा तयार गरिएको सम्मान सूचीमा एसइईतर्फ न्यू स्टार र पायोनियर स्कलर्स एकेडेमीको नाम समावेश थिएन तर अन्तिम समयमा ती विद्यालयको नाम थपिएको भन्दै शिक्षकहरूले सम्मान छनोट प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएका छन्। यही विषयले अहिले ठूलो प्रश्न खडा गरेको छ– यदि नगरपालिकाले सबै विद्यालयका लागि एउटै मापदण्ड बनाएको थियो भने उक्त मापदण्ड अन्तिम समयमा कसरी र कसको निर्णयमा परिवर्तन गरियो ?

सरकारी निकायले बनाएको मापदण्ड सबैका लागि समान रूपमा लागू हुनुपर्ने भएता पनि घोडाघोडी नगरपालिकाको सम्मान प्रक्रियामा देखिएको विभेदले पारदर्शिता र निर्णय प्रक्रियामाथि प्रश्न खडा गरेको  छ।

यस विषयमा घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख (उपसचिव) खगेन्द्र बहादुर सिंह र शाखाका अधिकृत उमेशराज रेग्मीलाई पटक-पटक फोन सम्पर्क गर्दा पनि फोन उठाएका छैनन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४१.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।