गृहमन्त्री सुधन गुरुङले अपनाएको शैली पछ्याउँदै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले पनि पूर्वसूचना बिना प्रहरी युनिटहरूको नियमित छड्के अनुगमन सुरु गरेका छन्।
हालै सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व सम्हालेका भट्टराई यसअघि कैलालीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) का रूपमा समेत कार्यरत थिए। अहिले उनी गृहमन्त्रीकै शैलीमा प्रहरी कर्मचारीको कार्यसम्पादनमाथि आकस्मिक निगरानी बढाइरहेका छन्। यसले विशेषगरी सीमा क्षेत्र लगायतका स्थानमा कार्यरत तल्लो तहका प्रहरी कर्मचारीलाई थप जिम्मेवार र सतर्क बनाएको छ।
स्रोतका अनुसार डीआईजी भट्टराईले दिन–रात नभनी मातहतका प्रहरी युनिटहरूको अनुगमन गरिरहेका छन्। यसले प्रहरी कर्मचारीमा कर्तव्यबोध र जिम्मेवारी थप बढेको छ। उनी कसैलाई पूर्वजानकारी नदिई राति १२ बजेसम्म पनि प्रहरी युनिटमा पुग्ने गरेका छन्। कार्यालयको सरकारी गाडी प्रयोग गर्दा प्रहरी कर्मचारीले पूर्वसूचना पाउन सक्ने भएकाले उनी प्रायः सादा पोशाकमा निजी गाडी प्रयोग गरी सीमा क्षेत्रलगायत विभिन्न स्थानमा छड्के निरीक्षणमा निस्कने गरेका छन्।
छड्के निरीक्षणका क्रममा ड्युटी तथा खटनपटनमा कमजोरी भेटिएपछि कैलालीका तीन जना प्रहरी इन्चार्जलाई डीआईजी भट्टराईले मौखिक रूपमा सचेत गराएको स्रोतको दाबी छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रशन्नराज चौधरीलाई पनि निरीक्षणका क्रममा कैफियत देखिएपछि सचेत गराइएको स्रोतले जनाएको छ।
डीआईजी भट्टराईले आफूले मातहतका प्रहरी युनिटहरूमा नियमित छड्के निरीक्षण गर्दै आएको स्वीकार गरेका छन्। प्रहरी कर्मचारीमा कार्यप्रति जिम्मेवारीबोध अभिवृद्धि गर्ने तथा देखिएका कमी–कमजोरी तत्काल सच्याउने उद्देश्यले यस्तो अनुगमन भइरहेको उनले बताए।
पहिलो पटक कैफियत देखिए सम्बन्धित प्रहरी कर्मचारीलाई सम्झाइबुझाइ गरी सचेत गरिने र पुनः उस्तै प्रकारको लापरवाही दोहोरिए प्रहरी नियमावलीअनुसार कारबाही गरिने डीआईजी भट्टराईले स्पष्ट पारे।
प्रेस पत्रबाट





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।