मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:२२ Sunday, November २२, २०२६

सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल

सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थानीयले मोटरसाइकल जलाएका छन् ।

शेयर३.३K०

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा स्थानीयले मोटरसाइकल जलाएका छन् । सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित समूहले वडा नम्बर–३ का अध्यक्षको घरमा गएर मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनी गर्नेहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

हिन्दु र मुस्लिम समुदायको बिचमा भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी चलाएको गोली लागेर मेहताको मृत्यु भएको हो । उनको शव विराटनगरस्थित न्युरो अस्पतालमा राखिएको छ । उनलाई १ गोली लागेको सुनसरीका एक जना सुरक्षा अधिकृतले बताए । सो घटनामा थप दुई जना गम्भीर घाइते छन् । उनीहरूलाई पनि गोली लागेको बताइएको छ । गम्भीर दुई जनाको विराट नर्सिङ होममा उपचार हुँदैछ ।

कप्तानगञ्ज घटनापछि स्थानीय प्रशासनले ४ वटा बजार क्षेत्रमा कर्फ्यु लगाएको छ । हरिनगरा बजार, घुटाहा बजार, कप्तानगंज, घुस्की र देवानगंज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै, दुई वटा गाउँपालिकामा स्थानीय प्रशासनले ५ जनाभन्दा बढी मानिस भेला हुने नदिने गरी निषेध आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सुनसरीको हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकामा निषेध आदेश जारी गरेका हुन् ।

झडप नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीका १० जना सुरक्षाकर्मी घाइते भएका सशस्त्र प्रहरी बलका एक जना अधिकृतले बताए । उनले भने, ‘एक जनालाई टाउकोमा ६ वटा टाँका लगाइएको छ । प्रहरीका इन्स्पेक्टर राकेश राईसहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले रातोपाटीलाई बताए । कप्तानगञ्जस्थित मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिमको बिचमा विवाद सुरु भएको थियो । त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद थप चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।