नेपाल जेसीजको आयोजना तथा टिकापुर जेसीजको आतिथ्यतामा सञ्चालित चारदिने Training of Trainers (TOT) तालिम टिकापुरस्थित सिद्धार्थ होटलमा सम्पन्न भएको छ।
बिहिबारदेखि सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको अध्यक्षतामा सञ्चालन भएको तालिममा देशभरका विभिन्न जेसीज शाखाबाट आएका ५० जना जेसीजकर्मीको सहभागिता रहेको थियो। सहभागीहरूलाई दक्ष प्रशिक्षक, प्रभावकारी सञ्चारकर्ता तथा सक्षम नेतृत्वका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम चार दिनसम्म चलेको थियो।
तालिममा नेपाल जेसीजका सन् १९९० का राष्ट्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक विकल प्रसाद शेरचनसँगै अन्तर्राष्ट्रिय प्रशिक्षक राजु सरकार र सुष्मा श्रेष्ठले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा नेतृत्व विकास, प्रभावकारी सञ्चार, प्रस्तुतीकरण कला, प्रशिक्षण सञ्चालनका विधि, सिकाइ सहजीकरण, व्यक्तित्व विकास, समूह व्यवस्थापन तथा व्यवहार परिवर्तनलगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको थियो।
समापन समारोहमा बोल्दै टिकापुर जेसिसका अध्यक्ष कमल प्रसाद सुवेदीले तालिम अत्यन्तै सफल र उपलब्धिमूलक भएको बताए। उनले चार दिनसम्म अनुशासित, सक्रिय र उत्साहपूर्ण रूपमा सहभागिता जनाउने सम्पूर्ण प्रशिक्षार्थीप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने नेपाल जेसीज, प्रशिक्षकहरू, अतिथिहरू तथा सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरे।
कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सन्तोष खड्का रहेका थिए। उनले यस्ता नेतृत्व तथा क्षमता विकाससम्बन्धी तालिमले युवाहरूको व्यक्तित्व विकाससँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
समापन समारोहलाई सम्बोधन गर्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले जेसीज वर्ष–२०२६ ले तय गरेका लक्ष्य र संकल्पलाई कार्यान्वयन गर्दै संगठन निरन्तर अघि बढिरहेको बताएका छन्।
उनले नेपाल जेसीजले यसअघि एक चरणको Training of Trainers (TOT) तालिम सफलतापूर्वक सम्पन्न गरिसकेको र टिकापुरमा दोस्रो चरणको तालिम सम्पन्न भएको जानकारी दिए। चालु वर्षभित्र थप दुई वटा TOT तालिम सञ्चालन गरिने तथा त्यसपछि Master Trainer (MT) तालिमसमेत आयोजना गर्ने योजना रहेको उनले बताए।
राष्ट्रिय अध्यक्ष कार्कीले तालिममा सहभागी सबै प्रशिक्षार्थीले यहाँबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आ–आफ्नो शाखा तथा समुदायमा प्रभावकारी रूपमा उपयोग गर्दै दक्ष प्रशिक्षकका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे। उनले तालिमलाई सफल बनाउन योगदान पुर्याउने प्रशिक्षक, आयोजक, आतिथ्य प्रदान गर्ने टिकापुर जेसीज तथा अनुशासित र सक्रिय सहभागिता जनाउने सम्पूर्ण प्रशिक्षार्थीप्रति धन्यवाद ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।
नेपाल जेसीजले यस्ता तालिममार्फत दक्ष प्रशिक्षक उत्पादन गर्दै नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको अभियानलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।