कैलालीको लम्कीचुहा नगरपालिका–८ मा रहेको बचैला–डमरिया खानेपानी उपभोक्ता समितिको आर्थिक पारदर्शितामाथि प्रश्न उठाएका एक स्थानीय युवामाथि कुटपिट भएको छ। घटनापछि प्रहरीमा उजुरी परे पनि दुवै पक्षबीच मिलापत्र भएको छ।
स्थानीय महेन्द्र बिष्टका अनुसार उक्त खानेपानी उपभोक्ता समितिले विगत पाँच वर्षदेखि आय–व्ययको हिसाबकिताब सार्वजनिक गरेको छैन। उपभोक्ताको साधारणसभा समेत नबोलाई नियमित रूपमा खानेपानीको महसुल (बिल) मात्र उठाउने गरिएको उनको आरोप छ।
यही विषयमा आफूले प्रश्न उठाउँदा समितिका अध्यक्ष पक्षका व्यक्तिहरूले आफूमाथि हातपात गरेको बिष्टको दाबी छ। “हिसाबकिताब सार्वजनिक नगरी पानीको बिल उठाउन पाइँदैन भनेर मैले भनेको थिएँ। त्यसपछि स्थानीय दीपक बिष्टले मलाई कुटपिट गरे,” उनले भने।
कुटपिटपछि आइतबार आफूले इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएको उनले बताए। तर सोमबार स्थानीय अगुवासहित दुवै पक्ष प्रहरी कार्यालय पुगेपछि गाउँमै मिलेर बस्नुपर्ने भन्दै भविष्यमा यस्तो घटना नदोहोर्याउने सहमतिसहित मिलापत्र गरिएको बिष्टले जानकारी दिए।
“गाउँकै मान्छे भएकाले मिलेर बस्नुपर्छ, अबदेखि यस्तो नगर्ने सर्तमा गाउँलेले पनि भनेपछि मैले मिलाइदिएँ,” उनले भने।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक कविराज रोकायाले पनि घटना प्रहरीसम्म आएको पुष्टि गर्दै दुवै पक्षबीच सहमति गराएर पठाइएको बताए।
यसैबीच, स्रोतका अनुसार खानेपानी उपभोक्ता समितिविरुद्ध आर्थिक अनियमितताको आरोपमा २०८२ को माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी दर्ता भएको छ। तर उक्त उजुरीमाथि हालसम्म कुनै सुनुवाइ नभएको स्रोतको दाबी छ।
यस विषयमा प्रतिक्रिया लिन खानेपानी उपभोक्ता समितिका अध्यक्ष विश्वेश्वर प्रसाद उपाध्यायलाई पटकपटक टेलिफोन सम्पर्क उनले फोन उठाएका छैनन्।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।