मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२५ Sunday, November २२, २०२६

सुदूरपश्चिमका सडकमा दुर्घटनाको कहर: तीन वर्षमै ५६९ जनाको ज्यान गयो

छिल्ला तीन आर्थिक वर्षमा मात्रै २ हजार ९ सय ८५ वटा दुर्घटनामा ५ सय ६९ जनाले ज्यान गुमाउनु र ५ हजारभन्दा बढी घाइते हुनु सामान्य तथ्यांक होइन

शेयर२K०

सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको बढ्दो श्रृंखला गम्भीर चिन्ताको विषय बनेको छ। पछिल्ला तीन आर्थिक वर्षमा मात्रै २ हजार ९ सय ८५ वटा दुर्घटनामा ५ सय ६९ जनाले ज्यान गुमाउनु र ५ हजारभन्दा बढी घाइते हुनु सामान्य तथ्यांक होइन, राज्य, सरोकारवाला निकाय र समाज सबैका लागि गम्भीर चेतावनी हो। अझ दुर्घटनाको संख्या आर्थिक वर्ष २०८०/८१ मा ३०९ बाट बढेर २०८२/८३ मा १ हजार ४ सय ७३ पुग्नुले सडक सुरक्षा प्रणालीमा गम्भीर कमजोरी रहेको स्पष्ट देखाउँछ।

दुर्घटनाका कारणहरू नयाँ छैनन्। तीव्र गति, जथाभावी ओभरटेक, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति, ट्राफिक नियमको बेवास्ता र चालकको लापरबाही मुख्य कारणका रूपमा बारम्बार औंल्याइँदै आएका छन्। सडकको कमजोर अवस्था, साँघुरा राजमार्ग, जोखिमयुक्त मोड तथा आवश्यक पूर्वाधारको अभावले पनि दुर्घटनाको जोखिम झन् बढाएको छ। यी समस्याबारे वर्षौंदेखि चर्चा भए पनि प्रभावकारी समाधान कार्यान्वयनमा भने अपेक्षित प्रगति हुन सकेको छैन।

चिन्ताको अर्को पक्ष के हो भने ट्राफिक कारबाहीमा पर्ने सवारी साधनको संख्या घट्दै गएको छ, तर दुर्घटना भने तीव्र रूपमा बढिरहेको छ। यसले नियम उल्लंघन घटेको संकेतभन्दा पनि निगरानी, नियन्त्रण र कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठाउँछ। सडकमा देखिने अनुशासन र व्यवहारमा सुधार नआएसम्म कारबाहीका तथ्यांक मात्र पर्याप्त हुँदैनन्।

सवारी दुर्घटना केवल कानुनी वा ट्राफिक व्यवस्थापनको विषय होइन, यो जनस्वास्थ्य, आर्थिक क्षति र सामाजिक सुरक्षासँग प्रत्यक्ष जोडिएको समस्या हो। प्रत्येक दुर्घटनाले कुनै न कुनै परिवारको भविष्य अन्धकार बनाइरहेको हुन्छ। त्यसैले दुर्घटनालाई नियतिको रूपमा स्वीकार्ने होइन, रोकथाम गर्न सकिने समस्याका रूपमा हेर्नुपर्छ।

अब प्रदेश सरकार, स्थानीय तह, ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवसायी र चालक सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बेला आएको छ। जोखिमयुक्त सडकको स्तरोन्नति, नियमित प्राविधिक परीक्षण, चालकको पुनर्तालिम, आधुनिक प्रविधिमार्फत गति निगरानी, मापसे परीक्षणलाई थप प्रभावकारी बनाउने तथा जनचेतना अभियानलाई निरन्तरता दिन आवश्यक छ।

सवारी दुर्घटनाको बढ्दो ग्राफलाई केवल तथ्यांकका रूपमा हेरेर बस्ने समय अब समाप्त भएको छ। समयमै प्रभावकारी कदम चाल्न नसके आगामी वर्षहरूमा यो मानवीय क्षति अझ भयावह बन्न सक्छ। सडक सुरक्षित बनाउने दायित्व सरकारको मात्र होइन, प्रत्येक चालक, यात्रु र नागरिकको पनि हो। नियमको पालना, जिम्मेवार व्यवहार र प्रभावकारी कार्यान्वयनमार्फत मात्र सुदूरपश्चिमका सडकलाई सुरक्षित बनाउन सकिन्छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।