कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक चालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
अविरल वर्षापछि खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका बर्दगोरिया गाउँपालिका–२ निवासी ३९ वर्षीय लौटन थारुले चलाएको से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो।
बिहीबार राति करिब ८:३० बजे इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट करिब १५० मिटर तल भिरालो खोलामा बगिरहेको अवस्थामा थारुको तत्काल सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
उद्धार गरिएका थारुको ढाड र दाहिने कुइनामा सामान्य चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्राथमिक उद्धार तथा आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।