मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:४३ Monday, November २३, २०२६

सामुदायिक वन दिवसमा १५० बिरुवा रोपिए

शेयर३.४K०

सामुदायिक वन दिवसको अवसरमा कैलालीको भजनीमा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिएको छ । “अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मोहन्याल सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (फेकोफन) को आयोजनामा तथा भजनी नगर महासंघको व्यवस्थापनमा भजनी नगरपालिका–१ स्थित मोहन्याल सामुदायिक वनमा वृक्षारोपणसहित सामुदायिक वन दिवस तथा महासंघको तेस्रो वार्षिक साधारण सभा समेत सम्पन्न गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा विशेषाधिकार समितिका सभापति तुलसी देवकोटाले जल, जंगल र जमिनको संरक्षण गर्न नसके मानव अस्तित्व नै जोखिममा पर्ने बताइन्। उनले वन अतिक्रमण रोकथाम गर्दै वन क्षेत्रको संरक्षण र विस्तार गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरिन् ।

सामुदायिक वन उपभोक्ताले अघि सारेका मागप्रति धारणा राख्दै देवकोटाले दिगो वन व्यवस्थापन कार्यविधिलगायत जायज माग तत्काल सम्बोधन गर्न आफू उपभोक्तासँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सामुदायिक वनको संरक्षण सबैको साझा प्रयासबाट मात्रै सम्भव हुने बताए । उनले वन संरक्षण तथा व्यवस्थापनका लागि मन्त्रालयबाट गर्नुपर्ने सहयोगका लागि आफूहरू तत्पर रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्याले सामुदायिक वन स्थापना भएपछि नाङ्गा डाँडाहरू पनि हरियाली भएको बताए। थुप्रै चाप हुँदाहुँदै पनि वन क्षेत्र बढेर ४६ प्रतिशतसम्म पुग्नु सफलता भएको उनले बताए ।

कार्यक्रममा डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत डा. रामबिचारी ठाकुर, कैलाली र कञ्चनपुरका विभिन्न सामुदायिक वनका अध्यक्ष तथा उपभोक्ता, महासंघका जिल्ला तथा पालिका पदाधिकारी, वनकर्मी र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूले सामुदायिक वन उपभोक्ताका हकहित, दोहोरो करलगायतका माग सम्बोधनका लागि शान्तिपूर्ण आन्दोलन जारी रहेको बताए। माग सम्बोधन नभए आगामी दिनमा आन्दोलन थप कडा बनाउनेसमेत उनीहरूले चेतावनी दिएका छन् ।

सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष दानबहादुर बिष्टको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपालका केन्द्रीय महासचिव डण्डीराज सुवेदीले गरेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।