नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीमा आयोजित विशेष कार्यक्रममा टाटा मोटर्सका अत्याधुनिक BS6 बस च्यासिस सार्वजनिक गरेको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न यातायात व्यवसायी, यातायात समिति तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सुदूरपश्चिमका सहसंयोजक टेकराज जोशी रहनुभएको थियो भने सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा ८ मिटरदेखि १२ मिटर लम्बाइका टाटा BS6 बस च्यासिस प्रदर्शनमा राखिएका थिए। छोटो तथा मध्यम दूरीका लागि उपयुक्त डे बस (Day Bus) र लामो दूरीका यात्राका लागि डिजाइन गरिएका नाइट बस (Night Bus) का विभिन्न मोडल सहभागीलाई अवलोकन गराइएको थियो।
सिप्रदी ट्रेडिङका उत्पादन प्रबन्धक इन्द्रमणि पोखरेलले BS6 प्रविधिका विशेषताबारे जानकारी दिँदै नयाँ पुस्ताका यी बस च्यासिसहरू कम प्रदूषण उत्सर्जन गर्ने, उत्कृष्ट इन्धन दक्षता प्रदान गर्ने, बढी माइलेज दिने तथा वातावरणमैत्री रहेको बताउनुभयो। उहाँका अनुसार BS6 सवारीमा अत्याधुनिक इन्जिन व्यवस्थापन प्रणाली, उन्नत After Treatment System (ATS), Selective Catalytic Reduction (SCR) प्रविधि, उत्कृष्ट टर्क र पावर, कम कम्पन तथा कम आवाज, लामो इन्जिन आयु र न्यून मर्मत खर्चजस्ता विशेषता समावेश गरिएका छन्।
उहाँले चालकको सहजताका लागि आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, उन्नत डायग्नोस्टिक प्रणाली, प्रभावकारी ब्रेकिङ क्षमता, उच्च ग्रेडेबिलिटी तथा यात्रु सुरक्षालाई प्राथमिकता दिने विभिन्न आधुनिक प्रविधि BS6 बस च्यासिसमा समावेश गरिएको जानकारी दिनुभयो। यी सुविधाले सञ्चालन खर्च घटाउनुका साथै यातायात व्यवसायीलाई दीर्घकालीन आर्थिक लाभ पुग्ने उहाँको भनाइ थियो।
पोखरेलले सिप्रदी ट्रेडिङले BS6 सवारीसाधन बिक्रीमा मात्र सीमित नरही बिक्रीपछिको सेवामा पनि विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार कम्पनीले BS6 प्रविधि, AdBlue को सही प्रयोग, इन्धन बचत, सुरक्षित ड्राइभिङ तथा सवारीको उचित मर्मतसम्भार सम्बन्धी चालक प्रशिक्षण कार्यक्रम विगतदेखि सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ।
कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले BS6 प्रविधियुक्त टाटा बस च्यासिसप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै यसले सार्वजनिक यातायात क्षेत्रलाई थप आधुनिक, सुरक्षित, वातावरणमैत्री तथा लागत प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा सिप्रदी ट्रेडिङको व्यवस्थापन तथा बिक्री विभागबाट दीपेन्द्र चन्दलगायत कम्पनीका अन्य प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। 





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।