कैलालीको मोहन्याल गाउँपालिकाको पण्ड़ौन स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्यकर्मीको अभाव हुँदा सेवा प्रवाह प्रभावित भएको स्थानीयले बताएका छन्। आठ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल १ जना अहेब, १ जना ल्याब कर्मचारी र १ जना कार्यालय सहयोगीसहित जम्मा तीन जना मात्र कार्यालयमा भेटिएका छन्।
स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने कर्मचारी नभएकाले उक्त सेवा पूर्ण रूपमा प्रभावित भएको स्थानीयको भनाइ छ। साथै, स्वास्थ्य सहायक (एचए) का दुई वटा स्वीकृत दरबन्दी रहे पनि दुवै पद हाल रिक्त रहेका छन्। जनशक्ति अभावका कारण सेवाग्राहीले आवश्यक स्वास्थ्य सेवा समयमै पाउन नसकेको भन्दै स्थानीयले तत्काल रिक्त पदमा कर्मचारी व्यवस्थापन गरी नियमित सेवा सञ्चालन गर्न मोहन्याल गाउँपालिकासँग माग गरेका छन्।
यता मोहन्याल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र शाहीले भने नर्सिङ स्टाफ तालिमका लागि धनगढी गएको कारण केही दिनका लागि यस्तो अवस्था देखिएको बताए। स्वास्थ्य चौकीमा पाँच जना कर्मचारी कार्यरत रहेकाले सेवा प्रभावित नभएको शाहीले दाबी गरे। कर्मचारी तालिममा गएको जानकारी स्थानीयले नपाउँदा सेवा बन्द भएको बुझाइ बनेको हुन सक्ने शाहीको भनाइ छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।