मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:३७ Sunday, November २२, २०२६

नेपाली झण्डामा सजिएकी पुन्टुरी, यसरी मनाइन जन्मदिन

टस जितेर ब्याटिङ गर्दै जनकपुर

शेयर१०००
Listen to this article
5 min listen · 740 words0:00 / 5:00
0:00
5:00

चितवनमा हुर्किरहेकी पुन्टुरी बिहिबार केही फरक देखिइन् । उनको शरीरमा नेपालको राष्ट्रिय झण्डा थियो ।

निधारमा अबिरको टीका लगाइएको थियो। उनको वरिपरि केरा, स्याउ, आँप र खरबुजाजस्ता फलफूल सजाइएका थिए। उनको ठ्याक्कै अगाडि टेवलमा जन्मदिनको केक राखिएको

आफ्नी आमासँगै उभिएकी पुन्टुरी निकै खुसी देखिन्थिन् । कहिले उनलाई मनपर्ने फलफूल खुवाइन्थ्यो, कहिले मायाले सुम्सुम्याइन्थ्यो। केहीबेरपछि केक काटेर जन्मदिनको उत्सव मनाइयो।

यो कुनै मानिसको जन्मदिन थिएन। २४ महिना पुगेकी हात्तीको छावाको दोस्रो जन्मदिन थियो ।

दुई वर्षअघि कात्तिक २६ गते बिहान ७ बजे जन्मिएकी सबैकी प्यारी पुन्टुरीको जन्मदिन मनाउन उनका शुभचिन्तकहरू जुटेका थिए ।

कसैले फलफूल ल्याएका थिए, कसैले उनका लागि विशेष कपडा । राष्ट्रिय झण्डामा सजिएकी पुन्टुरीको चञ्चलता र रमाइलो माहोलले जन्मदिनलाई अझ विशेष बनाएको थियो ।

पुन्टुरीको जन्मदिन उनी जन्मिएदेखि नै पुरुषोत्तम गिरीले मनाउँदै आएका छन् । गिरी पेशाले कन्टेन्ट क्रिएटर हुन् । हात्तीका आनीबानी र गतिविधिबारे भिडियो बनाउने उनी पुन्टुरीसँग पनि निकै नजिक छन्।

‘मैले सानैदेखि हात्तीहरूलाई आफ्नै वरिपरि देख्दै आएको छु। उनीहरूसँग मेरो निकै लगाव छ। मेरो कन्टेन्ट हेर्ने शुभचिन्तकहरूले पनि कहिलेकाहीँ हात्तीका लागि फलफूल र खानेकुरा पठाइदिनुहुन्छ,’ उनी भन्छन्।

छोराको बोलीबाट जन्मिएको ‘मायाकी खानी पुन्टुरी रानी’

हात्तीहरूको नाम हुन्छ । पुन्टुरीका बुबाको नाम गोविन्दगज र आमाको नाम लक्ष्मीकली हो। उनीहरूको छावा पुन्टुरीको नाम दुर्गाकाली थियो । तर,  पुरुषोत्तमले भने उनको नाम मायाले पुन्टुरी राखिदिएका हुन्।

पुन्टुरी, यो नाम राख्नुको किस्सा पनि रमाइलो छ ।

पुरुषोत्तमको घरअगाडिको बाटो हुँदै पुन्टुरी प्रायः ओहोरदोहोर गर्थिन् । उनी पुरुषोत्तमका साना छोरासँग पनि परिचित थिइन्। त्यतिबेला उनका छोरा ‘पुन्टुङ पुन्टुङ’ गर्दै हिँड्थे।

एक दिन पुन्टुरी घरअगाडिको बाटो हुँदै आइरहेकी थिइन्। छोराले उनलाई देखेपछि ‘बाबा, पुन्टुरी हात्ती आयो’ भनेछन्।

छोराको त्यही बोलीले पुरुषोत्तमलाई उनको नाम राख्ने जुक्ति दियो। त्यसपछि उनले मायाले ‘मायाकी खानी पुन्टुरी रानी’ भनेर बोलाउन थाले।

‘मैले मायाले आफैँ यो नाम राखिदिएको हुँ। मेरो छोरा पुन्टुरी हात्ती आयो भन्थ्यो। त्यसपछि मलाई पनि यो नाम असाध्यै मन पर्‍यो,’ पुरुषोत्तम सम्झिन्छन्।

एउटा बालकले बोलाएको नाम अहिले धेरैको मुखमा झुन्डिएको छ। अहिले अरु हात्तिको छावालाई पनि पुन्टुरी भन्ने गरिएको छ ।

नेपालको झण्डा किन ओढाइयो ?

जन्मदिनमा पुन्टुरीलाई नेपालको राष्ट्रिय झण्डा ओढाउनुको पछाडि पनि एउटा सन्देश छ। उनलाई झण्डामा सजाएर राष्ट्रियता र देशप्रतिको अपनत्व झल्काउन खोजिएको हो।

पुरुषोत्तमका अनुसार हात्ती पनि नेपालको प्राकृतिक सम्पदा र पर्यटनसँग जोडिएका छन्। उनीहरू नेपाली पहिचान र सम्पदाको एउटा हिस्सा हुन् भन्ने सन्देश दिन पुन्टुरीलाई राष्ट्रिय झण्डा पहिर्‍याइएको हो।

‘पुन्टुरीलाई राष्ट्रिय झण्डामा सजाएर जन्मदिन मनाउनुको उद्देश्य हात्तीप्रतिको माया मात्र देखाउनु थिएन। उनीहरू पनि हाम्रो नेपाली पहिचान र सम्पदाको हिस्सा हुन् भन्ने सन्देश दिन खोजिएको हो,’ उनी भन्छन्।

हात्तीलाई  पर्यटकीय आकर्षणका रूपमा मात्र नभई माया र संरक्षण गर्नुपर्ने जीवका रूपमा बुझ्नुपर्ने उनको धारणा छ। हात्ती पर्यटनलाई परिमार्जन गर्दै उनीहरूको हितलाई प्राथमिकतामा राखेर अघि बढाउन सकिने उनी बताउँछन्।

हरेक महिना केक, वर्षमा विशेष उत्सव

पुन्टुरीको जन्मदिन मनाउने चलन एक वर्षअघिबाट सुरु भएको हो। यसपालि पनि उनको जन्मदिन विशेष रूपमा मनाइएको छ।

पुरुषोत्तमका अनुसार पुन्टुरीको जन्मदिनमा उनीहरू विभिन्न थरीका फलफूल जुटाउँछन्। केरा, खरबुजा, स्याउ, आँपलगायत मौसमअनुसारका फलफूल ल्याउँछन्। उनलाई पेटभरि फलफूल खुवाउँछन्। नुहाइदिन्छन्, शरीरमा तेल लगाइदिन्छन् र राम्ररी सजाउँछन्।

यसपालि पुन्टुरीका लागि विशेष कपडासमेत ल्याइएको थियो। एक जना अष्ट्रेलियामा बस्ने शुभचिन्तकले उनका लागि कपडा प्रायोजन गरिदिएका थिए ।

त्यही कपडा पहिर्‍याएर पुन्टुरीलाई सजाइएको थियो। जन्मदिनमा मात्र होइन, उनीहरू हरेक महिना पनि पुन्टुरीको खुसी साट्छन्।

महिनैपिच्छे केक काटेर उनको उमेर बढेको खुसी मनाउने गरेको पुरुषोत्तम बताउँछन्।

‘२४ महिना पूरा हुँदा यसरी विशेष रूपमा जन्मदिन मनायौँ। अर्को महिना २५ महिना पुग्दा पनि उत्सव मनाउँछौँ,’ उनी भन्छन्।

पुन्टुरी अहिले  चितवनको बाघमारा सामुदायिक वन नजिक बस्छिन् । उनको स्वामित्व हरिभक्त घिमिरेसँग छ। उनी जंगल सफारी लजका सञ्चालक हुन्।

लामो समयदेखि हात्ती पालन गर्दै आएका घिमिरेले पुन्टुरीको हेरचाहको व्यवस्था मिलाउँदै आएका छन्।

मानिस देखेपछि डराउँदिनन्, झट्टै घुलमिल हुन्छिन् पुन्टुरी

पुन्टुरीको अर्को विशेषता उनको स्वभाव हो। उनी मानिस देखेपछि डराएर पर भाग्दिनन्। बरु, नजिकै आउँछिन्, चासोपूर्वक हेर्छिन् र सहजै घुलमिल हुन्छिन्। चञ्चल स्वभावकी पुन्टुरी वरिपरि भइरहेका गतिविधिमा पनि उत्तिकै चासो राख्छिन्।

माया गर्ने मानिससँग उनी छिट्टै परिचित हुन्छिन्। उनीसँग खेल्न र रमाउन खोज्छिन्। उनले नमस्ते गर्न जानेकी छिन् । लामो सुँडले माला लगाइदिन पनि खप्पिस छिन् ।

यही मिलनसार र चञ्चल स्वभावले पनि पुन्टुरीलाई अरूभन्दा विशेष बनाएको छ।

अझ रोचक कुरा त के छ भने, पुन्टुरी आफ्नी सानी आमा लक्ष्मीकलीसँग पनि उत्तिकै नजिक छिन् । पुन्टुरीलाई जन्म दिने आमाबाहेक अर्की लक्ष्मीकलीले पनि उनलाई आफ्नै छोरीजस्तै माया गर्छिन्।

पुरुषोत्तमका अनुसार पुन्टुरी कतै गइन् भने सानी आमा उनलाई खोज्न थाल्छिन्। नदेख्दा बेचैन हुन्छिन्। पुन्टुरीसँग उनको यस्तो आत्मीयता छ कि एकछिन पनि छुट्टिएर बस्न सक्दिनन्।

हात्ती स्वभावैले सामाजिक जनावर हुन्। उनीहरू आफ्नो समूहसँग नजिक हुन्छन्। एकअर्कासँगको सम्बन्ध, साथ र सुरक्षित वातावरण उनीहरूका लागि महत्त्वपूर्ण हुन्छ। पुन्टुरीको आफ्नी सानी आमासँगको आत्मीयताले पनि हात्तीबीचको यस्तो सम्बन्धलाई झल्काउँछ।

पुन्टुरीको तालिम सुरु हुने दिन नजिकिदै 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०००
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।