मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:३४ Monday, November २३, २०२६

साईनिङ्ग स्टार भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा बसन्त मुरारी विजयी

शेयर१०.२K०

छैठौं संस्करणको साईनिङ्ग स्टार राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । साईनिङ्ग स्टार यूवा क्लबको आयोजनामा सञ्चालन प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।साईनिङ्ग स्टार भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा बसन्त मुरारी विजयीसो अवसरमा उनले खेलकुदले व्यक्तित्व विकाससँगै स्थानीय क्षेत्रको पहिचान जोडिएको बताए । खेलकुदले देशविदेशमा स्थानीय क्षेत्रलाई चिनाउन मद्दत मिल्ने बताउँदै उनले पालिकाले प्रतियोगिता सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले स्थानीय सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए ।

स्थानीय क्षेत्रबाट नै खेलाडी उत्पादन गर्न सकिए खेलकुदको महत्व अझै बढ्ने अध्यक्ष कुँवरको भनाइ थियो । उद्घाटन कार्यक्रममा क्लबका अध्यक्ष भेषराज जैसीले खेलकुदलाई छैठौं संस्करणसम्म निरन्तरता दिएकाले स्थानीय, प्रदेश र संघीय सरकारले खेलकुदका लागि पूर्वाधार विकाससँगै खेलाडीलाई प्रोत्साहन गर्न नीतिगत सुधारका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

बर्दगोरियालाई खेलकुद क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउँदै उनले खेल मैदान, खेलकुद सामग्री व्यवस्थापन नहुँदा र प्रशिक्षकको अभावले भलिबल खेल संकटमा पर्न थालेको बताए । उनले ग्रामीण भेगमा भलिबललाई सबैले रुचाउने गरेपनि क्लब एक विशुद्ध सामाजिक तथा गैरनाफामूलक संस्था भएकाले आर्थिक व्यवस्थापन नहुँदा वर्षेनी संघसंस्थासँग हात फैलाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले वडा र पालिकाले आवश्यक बजेट विनियोजन गर्दै युवा तथा खेलकुदको विकासमा जोड दिन जनप्रतिनिधिको ध्यानाकर्षण गराए । उद्घाटन खेलमा बसन्त मुरारी माविले आयोजक ‘बी’ टीमलाई २–१ को सेटमा हरायो । बसन्त मुरारीले २५–१५, २५–१४ र २५–१५ ले लिँदै आयोजक ‘बी’ माथि जित निकाल्यो । प्रतियोगितामा विभिन्न जिल्लाका १३ टिमको सहभागिता रहेको क्लबका महासचिव सुन्दर गौतमले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ४५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । त्यस्तै, तेस्रो हुने टोलीले २९ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा वेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो, वेष्ट प्लेयरलाई नगद पुरस्कार र अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिने छ । बर्दगोरिया गाउँपालिकाको मुख्य प्रवर्द्धक रहेकोे प्रतियोगिताको सह–प्रवर्द्धकमा ६ वटै वडा कार्यालय छन् ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष मिलन ओली र वडाध्यक्ष मनऋषि आचार्यले शुभकामना मन्तव्य राखेका थिए । महासचिव सुन्दर गौतमले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए । आजदेखि सुरु भएको प्रतियोगिता चैत १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।