मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:२६ Monday, November २३, २०२६

घोडाघोडीमा निर्माण व्यवसायीबीच होटलमा कुटाकुट, खबर गर्ने सञ्चालक नै प्रहरी नियन्त्रणमा

होटल सञ्चालक लालबहादुर चौधरीले आफूले नै प्रहरीलाई खबर गरेको भए पनि उल्टै प्रहरीले आफूलाई एक रात नियन्त्रणमा राखेको गुनासो गरेका छन्।

शेयर१५३.७K०

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित एक होटलमा निर्माण व्यवसायीबीच भएको कुटाकुटपछि होटल सञ्चालक नै प्रहरी नियन्त्रणमा परेका छन्।

आइतबार राति करिब १०ः३० बजेतिर सुखड बजारस्थित दहित रेस्टुरेन्टमा घोडाघोडी र बौनियाका निर्माण व्यवसायी (ठेकेदारबीच) खानपिनका क्रममा विवाद हुँदा झडप भएको हो।

स्रोतका अनुसार बर्दगोरिया गाउँपालिका–१ बौनिया बस्ने शिवराज कुँवर पक्ष र घोडाघोडीका निर्माण व्यवसायीबीच सुरु भएको विवादपछि कुँवरले चिसापानीबाट थप केटाहरू बोलाइएपछि घटना थप उग्र बनेको थियो। होटलभित्र नै समूहबीच कुटाकुट हुँदा टेबल, कुर्सी, गिलास लगायत सामग्रीमा क्षति पुगेको बताइएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी टोली होटल पुगेको थियो। तर प्रहरी पुग्दासमेत झडप नरोकिएको र नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै गालीगलोज र हात हालाहालको अवस्था सिर्जना भएको स्रोतले जनाएको छ।

होटल सञ्चालक लालबहादुर चौधरीले आफूले नै प्रहरीलाई खबर गरेको भए पनि उल्टै प्रहरीले आफूलाई एक रात नियन्त्रणमा राखेको गुनासो गरेका छन्। “राति करिब १०:३० बजेतिर उहाँहरूले खानाको अर्डरसँगै बियर पनि खानुभएको थियो। खाँदै गर्दा एक्कासी झगडा सुरु भयो,” सञ्चालक चौधरीले भने। उनले घटनाबारे प्रहरीलाई आफूले नै खबर गरेको भए पनि उल्टै प्रहरीले आफूलाई एक रात नियन्त्रणमा राखेको गुनासो गरे।
“मैले नै प्रहरी बोलाएँ, बयान दिन जति बेला पनि आउँथें। म होटल व्यवसाय गरेर खाने मान्छे, उल्टै मलाई नै रातभर थुनेर दुःख दिइयो,” चौधरीले दुखेसो पोखे।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनामा संलग्न पाँच जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३७ वर्षीय कृष्णजंग शाही, ३० वर्षीय सागर शाही, बर्दगोरिया गाउँपालिका–१ का ४५ वर्षीय शिवराज कुँवर, बर्दगोरिया–५ का २६ वर्षीय ओम थापा र बर्दगोरिया–२ का २६ वर्षीय श्रीराम भट्ट रहेका छन्।

पाँचै जना हाल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५३.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।