मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२४ Sunday, November २२, २०२६

रास्वपा कैलालीको नेतृत्व चयन विवादित, गैर-मतदाताले मतदान गरेको आरोपसहित केन्द्रमा उजुरी

शेयर७.६K०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। सभापतिका उम्मेदवार हरि रेग्मी र महेश चौधरी पक्षले निर्वाचन प्रक्रिया पक्षपाती, त्रुटिपूर्ण तथा अवैध भएको आरोप लगाउँदै पार्टीको केन्द्रीय नेतृत्वसमक्ष उजुरी दर्ता गराएका छन्।

असन्तुष्ट पक्षका अनुसार अधिवेशनका क्रममा निर्वाचन प्रक्रियामाथि पटक–पटक आपत्ति जनाइए पनि त्यसको सुनुवाइ नभएपछि उनीहरूले निर्वाचन बहिष्कार गरेका थिए। उनीहरूका अनुसार शनिबार साँझ नै लिखित असहमति जनाएर हल छाडेको अवस्थामा मध्यराति करिब १ बजे मतदान प्रक्रिया सम्पन्न गरी कविन्द्र ठकुल्लालाई सभापतिमा निर्वाचित घोषणा गरिएको थियो।

उम्मेदवार हरि रेग्मीले जिल्ला अधिवेशनमा गठन गरिएको निर्वाचन समिति नै वैधानिक व्यवस्थाविपरीत रहेको दाबी गरेका छन्। उनले पार्टी विधानअनुसार जिल्लाको सदस्य निर्वाचन समितिमा बस्न नपाउने व्यवस्था भए पनि त्यसको उल्लङ्घन गरिएको आरोप लगाए।

रेग्मीले आवश्यक सङ्ख्यामा मतदाता उपस्थित नभएपछि गैर–मतदाता तथा सर्वसाधारणलाई मतदानमा सहभागी गराइएको दाबी समेत गरेका छन्। उनका अनुसार मतदाता नामावली सच्याउन, छुटेका मतदाताको नाम समावेश गर्न तथा सम्भावित धाँधली रोक्न पटक–पटक लिखित सुझाव दिइए पनि बेवास्ता गरिएको थियो।

असन्तुष्ट पक्षले उम्मेदवारी दर्तापछि सहमति वा मतदान प्रक्रिया सम्पन्न गर्न पर्याप्त समय हुँदाहुँदै नियोजित रूपमा मतदान मध्यरातिसम्म लम्ब्याइएको आरोप लगाएको छ। टाढा–टाढाबाट आएका धेरै मतदाता घर फर्किसकेपछि मतदान गराइएको र त्यससम्बन्धी भिडियो प्रमाण आफूहरूसँग रहेको उनीहरूको दाबी छ।

उक्त विषयमा प्रदेश सभापति प्रकाश विष्टमाथि आफ्नो पक्षअनुकूल नेतृत्व चयन गर्न दबाब र हस्तक्षेप गरेको आरोप लगाइएको छ।

असन्तुष्ट पक्षले निर्वाचन प्रक्रियाको छानबिन गरी परिणाम खारेज गर्न तथा प्रदेश नेतृत्वको हस्तक्षेपबिनाको निष्पक्ष निर्वाचन पुनः गराउन माग गर्दै रास्वपाको केन्द्रीय समिति, केन्द्रीय निर्वाचन समिति र अनुशासन विभागमा उजुरी दर्ता गराएको जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।