मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०९ Monday, November २३, २०२६

खाजा खर्च बचाएर विद्यार्थीले गरे विपन्न परिवारलाई जस्तापाता सहयोग

घोडाघोडी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय (बीबीएस) मा अध्ययनरत विद्यार्थीहरूले एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेका छन्।

शेयर१०.६K०

“हामी सबैको सानो हात, विपन्नका लागि ठूलो राहत” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय (बीबीएस) मा अध्ययनरत विद्यार्थीहरूले एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेका छन्।

घोडाघोडी नगरपालिका–८ स्थित मुक्तकमैया शिविरमा बसोबास गर्दै आएका बुधराम चौधरीको घरको छाना निर्माणका लागि विद्यार्थीहरूले आफ्नै खाजा खर्चबाट रकम बचत गरी करिब २२ हजार रुपैयाँ बराबरको जस्तापाता खरिद गरेर हस्तान्तरण गरेका हुन्।

प्राध्यापक चेतराज बिनाडीको पहलमा सञ्चालन गरिएको उक्त अभियानमा विद्यार्थीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका थिए। संकलित रकमबाट खरिद गरिएको जस्तापाता बुधबार आयोजित एक कार्यक्रमका बीच चौधरी परिवारलाई हस्तान्तरण गरिएको हो।

Screenshot_20260610_144217_Galleryसहयोग हस्तान्तरण कार्यक्रममा मुक्तकमैया समुदायका भलमंसा लौटन चौधरी, क्याम्पसका प्राध्यापक चेतराज बिनाडी, पूर्व क्याम्पस प्रमुख प्राध्यापक दिनेशराज जोशी तथा व्यवस्थापन संकाय प्रमुख प्राध्यापक बिरेन्द्र कुँवरलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै भलमंसा लौटन चौधरीले नेपाल सरकारले २०५७ साल साउन २ गते मुक्तकमैया प्रथा अन्त्य गर्दै मुक्तकमैया घोषणा गरेको र २०५८ सालदेखि पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको स्मरण गराए। उनले मुक्तकमैया शिविरमा अझै पनि धेरै परिवार आर्थिक अभाव र आधारभूत आवश्यकताका समस्यासँग संघर्ष गरिरहेको उल्लेख गर्दै विद्यार्थीहरूको मानवीय सहयोगको खुलेर प्रशंसा गरे। साथै मुक्तकमैया समुदायको दीर्घकालीन उत्थानका लागि राज्यले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

व्यवस्थापन संकाय प्रमुख प्राध्यापक बिरेन्द्र कुँवरले विद्यार्थीहरूले दुई दिनको खाजा खर्च कटाएर संकलन गरेको रकमबाट जस्तापाता सहयोग गरिएको जानकारी दिए। उनले युवा पुस्ताको यस्तो सामाजिक उत्तरदायित्वपूर्ण अभियानले समाजमा सहयोग, सहकार्य र मानवताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

सहयोग प्राप्त गरेपछि बुधराम चौधरी परिवारले विद्यार्थी, शिक्षक तथा क्याम्पस परिवारप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले घरको छाना व्यवस्थापनमा ठूलो राहत पुगेको बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले समाजका विपन्न, असहाय तथा आवश्यकतामा रहेका नागरिकहरूको साथमा उभिन पाउँदा आत्मसन्तुष्टि मिलेको बताएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

विद्यार्थीहरूको सानो त्याग र सामूहिक प्रयासले एक विपन्न परिवारको जीवनमा राहतको आशा थपिदिएको भन्दै स्थानीयवासीले समेत यस अभियानको प्रशंसा गरेका छन्। यस्तो उदाहरणीय कार्यले शिक्षासँगै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।