मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२२ Monday, November २३, २०२६

सुदूरपश्चिममा बजेट अनिश्चित : कांग्रेस–एमालेबीच भागबण्डा नमिल्दा अन्तिम घडीसम्म रस्साकस्सी

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट आजै सार्वजनिक हुने विषय अनिश्चित बनेको छ।

शेयर७.६K०

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट आजै सार्वजनिक हुने विषय अनिश्चित बनेको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बजेटको भागबण्डा तथा आयोजना व्यवस्थापनमा कुरा नमिल्दा गठबन्धनभित्र तनाव बढेको स्रोतहरूले बताएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले अहिलेसम्मकै ठूलो आकारको करिब ३८ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरे पनि अन्तिम समयमा सत्ता साझेदार दलहरूबीच बजेट बाँडफाँटमा विवाद चर्किएको हो। बजेट निर्माणमा संलग्न स्रोतका अनुसार एमालेले आफूहरूले सिफारिस गरेका आयोजना र बजेटको व्यवस्थापन अपेक्षाअनुसार नभएको भन्दै असन्तुष्टि जनाएको छ।

आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा आइतबार रातिदेखि सोमबार बिहानसम्म पनि बजेट इन्ट्री तथा वक्तव्य लेखनको काम जारी रहेको छ। यद्यपि गठबन्धनभित्रको असन्तुष्टिका कारण बजेट प्रस्तुतिको समय नै प्रभावित हुन सक्ने संकेत देखिएको छ।

स्रोतका अनुसार आइतबार प्रदेशसभा बैठकमा एमालेबाट मन्त्री तथा संसदीय दलका नेतासमेत अनुपस्थित हुनु सामान्य घटना नभई मुख्यमन्त्रीमाथि दबाब सिर्जना गर्ने रणनीतिक कदम थियो। बजेटमा आफ्नो पक्षको माग सम्बोधन नभएको भन्दै एमालेभित्र असन्तुष्टि बढ्दै गएको बताइएको छ।

‘बजेटमा धेरै विषय टुंगिन बाँकी छन्। एमालेले आफ्ना सांसद र नेताहरूले सिफारिस गरेका योजनाको उचित व्यवस्थापन नभएको गुनासो गरिरहेको छ,’ बजेट निर्माण प्रक्रियामा संलग्न एक स्रोतले भन्यो, ‘अन्तिम समयमा पनि समन्वयको प्रयास भइरहेको छ।’

सरकारको आयु नै नाजुक अवस्थामा रहेको र दुई जना सांसद यताउता हुँदा सरकार अल्पमतमा पर्न सक्ने भएकाले मुख्यमन्त्री शाहमाथि सत्ता जोगाउने दबाब पनि उत्तिकै रहेको छ। यही कारण कांग्रेस र एमाले दुवैतर्फका सांसद तथा नेताहरूले बजेटमा आफ्नो प्रभाव बढाउन तीव्र दबाब दिएका छन्।

यसअघि प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई तीन करोड बजेट भाग दिइएकोमा यसपटक क्रमशः सात करोड र पाँच करोड पुर्‍याइएको छ। सांसदहरूको दबाब व्यवस्थापनकै क्रममा सरकारले अर्बौं रुपैयाँ बजेट भागबण्डामा छुट्याएको स्रोतको दाबी छ।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट हुने बचत, आन्तरिक राजस्व वृद्धि तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई आधार बनाएर बजेटको आकार बढाउने तयारी गरेको भए पनि सत्ता गठबन्धनभित्रकै विवादका कारण बजेट सार्वजनिक गर्ने कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ।

स्रोतहरूका अनुसार सोमबार दिउँसोसम्म पनि कांग्रेस र एमालेबीच अन्तिम सहमतिको प्रयास जारी रहेकाले बजेट समयमै आउने वा केही समय पर धकेलिने भन्ने विषय अझै टुंगो लागिसकेको छैन।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।