राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशनबाट झनक खनाल सबैभन्दा बढी मत प्राप्त गर्दै प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका छन्।
कैलालीको कैलारी गाउँपालिका–२ का स्थायी बासिन्दा खनालले अधिवेशनमा प्रतिस्पर्धामा रहेका अन्य २१ जना उम्मेदवारहरूमध्ये सर्वाधिक ३०९ मत प्राप्त गरेका हुन्। भूगोलतर्फ होस् वा खुलातर्फ, सबै उम्मेदवारलाई पछि पार्दै उनले लोकप्रिय मतका साथ विजय भएका छन्।
करिब तीन वर्षअघि रास्वपाको सदस्यता लिएर सक्रिय राजनीतिमा प्रवेश गरेका खनालले छोटो अवधिमै पार्टीभित्र प्रभावशाली छवि बनाएका छन्। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय सदस्य हुँदै क्षेत्रीय सभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। यसअघि पनि उनी रास्वपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय थिए।
पार्टी संगठन विस्तार तथा कार्यकर्ताबीचको समन्वयमा सक्रिय खनालले गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद जगतप्रसाद जोशीको चुनावी अभियानमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
पार्टीमा प्रवेश गरेको छोटो समयमै संगठन निर्माण र कार्यकर्तामाझ स्थापित विश्वासका कारण खनालले यसपटकको प्रदेश अधिवेशनमा सबैभन्दा बढी मत प्राप्त गर्न सफल भएको पार्टीका नेता–कार्यकर्ताहरूको भनाइ छ।
सर्वाधिक मतसहितको विजयसँगै खनाल सुदूरपश्चिममा रास्वपाका उदाउँदा युवा नेताका रूपमा स्थापित हुँदै गएको विश्लेषण गरिएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।