कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा विभिन्न धर्मका धार्मिक अगुवाहरूलाई सम्मान गरिएको छ। असल छिमेकी नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा महिला हिंसा विरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा हिन्दु, क्रिश्चियन, मुस्लिम र बौद्ध धर्मका धार्मिक अगुवाहरूलाई कदरपत्रसहित सम्मान गरिएको हो।
बालविवाह, दाइजो प्रथा, छाउपडी, बोक्सी प्रथा तथा लैङ्गिक हिंसाजस्ता परम्परागत हानिकारक अभ्यास न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै धार्मिक अगुवाहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत ले धार्मिक अगुवाहरूलाई सम्मान गर्दै समाजमा शान्ति, सद्भाव, नैतिक मूल्यको प्रवर्द्धन तथा महिला हिंसा न्यूनीकरणमा उनीहरूले पु¥याएको योगदानको प्रशंसा गरे। उनले सामाजिक विकृति, कुरीति तथा विभेद अन्त्यका लागि धार्मिक समुदायको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।
आयोजकका अनुसार समाजमा सकारात्मक परिवर्तन ल्याउन धार्मिक अगुवाहरू प्रभावशाली माध्यम भएकाले उनीहरूको योगदानको कदरस्वरूप सम्मान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा धार्मिक सहिष्णुता, सामाजिक एकता तथा महिला र बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि धार्मिक समुदायले खेल्न सक्ने भूमिकाबारे समेत छलफल गरिएको थियो।
वक्ताहरूले धार्मिक अगुवाहरू समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएकाले उनीहरूको सक्रिय सहभागिताले हिंसामुक्त, समावेशी र न्यायपूर्ण समाज निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। साथै, महिला हिंसा अन्त्यका लागि सबै धर्म र समुदायबीच सहकार्य, समन्वय र ऐक्यबद्धता आवश्यक रहेको औँल्याए।
अन्तर धार्मिक सञ्जाल घोडाघोडी नगरका अध्यक्ष शिवप्रसाद ढकाल को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष धनश्याम ओझा, विभिन्न धर्मका धार्मिक अगुवा, निरन नेपालका प्रतिनिधि, सामाजिक अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।