साउथह्याम्पटनमा शनिबार भएको खेलमा इंग्ल्यान्डले सुरुदेखि नै भारतमाथि दबाब बनाएको थियो। पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५७ रनको विशाल योगफल तयार गर्यो।
टोलीका लागि जोस बटलरले ६१ बलमा १ सय ३१ रनको अविस्मरणीय इनिङ्स खेले। उनले ११ चौका र ८ छक्का प्रहार गरे।
कप्तान ह्यारी ब्रुक ४८ बलमा ९५ रनमा अविजित रहे। उनले ५ चौका र ८ छक्का प्रहार गरे। यी दुईले दोस्रो विकेटका लागि १ सय ३ बलमा २ सय ३३ रनको कीर्तिमानी साझेदारी गर्दै भारतका बलरमाथि पूर्ण दबाब बनाए।
फिल साल्ट १५ रनमा आउट हुँदा इंग्ल्यान्डले पहिलो विकेट चाँडै गुमाएको थियो। त्यसपछि बटलर र ब्रुकले आक्रामक ब्याटिङ गर्दै खेलको दिशा नै बदलिदिए।
भारतका बलरले सुरुदेखि नै लय समात्न सकेनन्। फिल्डिङ पनि कमजोर रह्यो। भारतले तीन महत्वपूर्ण क्याच छाडेको थियो, जसको पूरा फाइदा बटलर र ब्रुकले उठाए। अन्तिम ५ ओभरमा इंग्ल्यान्डले तीव्र गतिमा रन जोड्दै भारतलाई २ सय ५८ रनको कठिन लक्ष्य दियो।
जवाफमा भारतले सुरुआतदेखि नै आवश्यक रनगति समात्न सकेन। इशान किशनले ५६ रन र तिलक वर्माले ५३ रन बनाए। सञ्जु सामसनले केही आकर्षक प्रहार गरे पनि लामो इनिङ्स खेल्न सकेनन्।
अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा भारत २० ओभरमा ८ विकेट गुमाएर २ सय १ रनमै सीमित भयो।
इंग्ल्यान्डका साम करनले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। आदिल राशिदसहित अन्य बलरले पनि नियमित अन्तरालमा विकेट निकाल्दै भारतलाई खेलमा फर्किन दिएनन्।
खेलअघि भारतलाई अर्को समस्या पनि परेको थियो। टोली साउथह्याम्पटनस्थित होटलबाट मैदान पुग्ने क्रममा भारी ट्राफिकमा फसेपछि टस ४५ मिनेट ढिलो भएको थियो।
छोटो तयारीका कारण भारतको प्रदर्शनमा असर परेको देखियो। कप्तान श्रेयस अय्यरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि त्यो सफल हुन सकेन।
यो जितसँगै इंग्ल्यान्डले ५ खेलको शृंखला ४-० ले जित्यो। साथै इंग्ल्यान्ड आइसिसी टि ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।
भारत भने ४ वा सोभन्दा बढी खेलको टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पहिलो पटक कुनै पनि खेल जित्न असफल भएको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।