अछामको चौरपाटी गाउँपालिकाले विभिन्न वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत १३ जना करार कर्मचारीको सेवा अवधि (म्याद) नथप्ने निर्णय गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार ती कर्मचारीहरूको करार अवधि २०८३ असार मसान्तसम्म मात्रै कायम रहेको थियो।
गाउँ कार्यपालिकाको असार ३२ गते बसेको बैठकले साउन १ गतेदेखि करार म्याद नथप्ने निर्णय गरेको भए पनि, निर्णय कार्यान्वयनका क्रममा केही कर्मचारीले हाजिर गरेको जानकारी प्राप्त भएपछि कार्यपालिकाले पुनः छलफल गरी उनीहरूको करार म्याद नथप्ने निर्णय गरेको जनाएको छ।
निर्णयसँगै गाउँपालिकाले म्याद नथपिएका कर्मचारीलाई अब उपरान्त हाजिर नगर्न तथा सम्बन्धित कार्यालयहरूले पनि हाजिर नगराउन वडा कार्यालय र स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
म्याद नथपिएका कर्मचारीहरूमा प्रशासन सहायक, कृषि प्राविधिक, पशु सेवा प्राविधिक तथा ल्याब असिस्टेन्ट पदमा कार्यरत कर्मचारीहरू रहेका छन्। उनीहरू गाउँपालिकाको कार्यालय, विभिन्न वडा कार्यालय तथा सोकट, पायल, दुनी र मार्कु स्वास्थ्य चौकीमा कार्यरत थिए।
गाउँपालिकाले कार्यपालिकाको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य शाखालाई आवश्यक पत्राचार समेत गरिसकेको जनाएको छ।






अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।